
काठमाडौं ।
ह्वावेले आफ्नो १७ औं सुपर कार फोरम जनवरी २०मा आयोजना गर्यो, जहाँ कम्पनीले आफ्ना योजनाहरू र अटोमोटिभ उद्योगमा आउने नयाँ प्रविधिहरूबारे जानकारी गराएको छ। गत वर्ष सेप्टेम्बरमा, ह्वावेले वाङ जुनलाई आफ्नो इन्टेलिजेन्ट अटोमोटिभ सलुसन्स बिजनेस यूनिटको नयाँ सीओओ नियुक्त गरेको थियो।
सो कार्यक्रममा, वोङले पूर्ण रूपमा अटोनोमस कारहरू आउन अझै ५ देखि १० वर्ष लाग्ने विश्वास व्यक्त गरे। यस बाहेक उनले ह्वावेले आफ्नै कार बनाउन भन्दा पनि ओईएमका लागि हार्डवेयर पार्टपुर्जा बनाउनमा ध्यान दिने स्पष्ट पारेका छन् ।
गीज्मोचाइनाले आईटी होम्सको रिपोर्टलाई उद्धृत गर्दै वाङ जुनले ह्वावे मूलतः दूरसञ्चार क्षेत्रमा निपुण रहेको र आईसीटी प्रविधिमा ३० वर्षभन्दा बढी अनुभव भएको बताएको उल्लेख गरेको छ। यो प्रविधिका साथ स्मार्ट कार उद्योगमा प्रवेश गरेकोले यो अनुभवले कम्पनीलाई निकै फाइदा पुग्ने उनको भनाइ छ।
कार्यक्रममा वाङले कम्पनीले आफ्नै कार बनाउने लक्ष्य नभएको पनि पुष्टि गरे। यसको सट्टा, ह्वावेले अन्य अटोमोटिभ कम्पनीहरूलाई राम्रो कारहरू निर्माण गर्न मद्दत गर्न हार्डवेयर पार्ट्स बनाउनमा ध्यान दिनेछ। यसका लागि कम्पनीले चीनको सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी बीएआईसी, चाङ्गगन र जीएसीसँग साझेदारी गरेको छ।
वाङको विचारमा, आगामी पाँच देखि दश वर्षमा कार उद्योगमा ठूलो परिवर्तन हुनेछ र कम्पनीहरूले सफ्टवेयर क्षमताहरूको अत्यधिक प्रयोग गर्नेछन्। इन्टेलिजेन्ट ड्राइभिङ प्रविधिमा ठूलो लगानी गर्नुका साथै कम्पनीले इन्टेलिजेन्ट ककपिटमा पनि लगानी गरिरहेको उनले बताए । यसका लागि कम्पनीले हार्मोनी ओएस इकोसिस्टमको सहयोग लिनेछ।
कम्पनीले यसअघि नै आफ्नो हार्डवेयर र सफ्टवेयर प्रयोग भएको गाडीको घोषणा गरेको थियो। सार्वजनिक भएको ह्वावे एआईटीओ एम५ इलेक्ट्रिक भेहिकल जसलाई ह्वावे र सेरेसले संयुक्तरूपमा विकास गरेका हुन्। सो कारमा १०.४ इन्च इन्स्ट्रुमेन्ट क्लस्टर र १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जुन हार्मोनी ओएसमा चल्छ र थ्रीडी फेस रिकग्निसन सपोर्ट गर्छ।
प्रकाशित: ७ माघ २०७८, शुक्रबार