
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले भारतमा अर्को महिना १२० वाट चार्जिङ क्षमतायुक्त फोन सार्वजनिक गर्ने भएको छ।
शाओमीको सहायक ब्रान्ड रेडमीले हालै रेडमी नोट ११टी फाइभजी भारतमा घोषणा गरेको छ। उक्त स्मार्टफोन गत महिना चीनमा सारवजनिक गरिएको रेडमी नोट ११को पुन: ब्रान्ड गरिएको भर्सन हो।
नोट ११ सिरिज अन्तर्गत नोट ११ प्रो र नोट ११ प्रो+ रहेका छन् जसमध्ये नोट ११ प्रो+ मा १२० वाटको चार्जिङ सपोर्ट रहने बुझिएको छ।
शाओमी आफैंले भने नोट ११ प्रो+ भारतमा सार्वजनिक गर्ने सम्बन्धमा केही जानकारी दिएको छैन। तर हालैको एउटा नयाँ रिपोर्टले दावी गरे अनुसार उक्त स्मार्टफोन एसियाली देशहरुमा आगामी जनवरीअगावै आइसक्नेछ।
यसै क्रममा भ्यानिला नोट ११ मा झैं प्रो+ मोडल पनि फरक नामबाट आउने बुझिएको छ। यसलाई रेडमी नोट ११आई हाइपरचार्ज भनिने बुझिएको छ।
नोट ११ प्रो भने भारतमा शाओमी एमआई ११आई का रुपमा सार्वजिनक हुने तथा अर्को एक चर्चाका अनुसार १२० वाट चार्जिङ सपोर्टसहितको शाओमी एमआई ११टी प्रो पनि भारतमा सार्वजनिक हुनेछ।
तर शाओमीले अर्को महिना भारतमा एमआई ११टी प्रो वा रेडमी नोट ११ प्रो+ वा दुवै सार्वजनिक गर्नेछ भन्ने चाहिँ प्रस्ट हुन सकेको छैन।
प्रकाशित: १६ मंसिर २०७८, बिहीबार