विद्युत प्राधिकरणले मोरङबाट विद्युतका कंक्रिट पोल उत्पादन सुरु

  • Technology Khabar | २९ श्रावण २०७८, शुक्रबार
विद्युत प्राधिकरणले मोरङबाट विद्युतका कंक्रिट पोल उत्पादन सुरु

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले मोरङको टंकिसिनुवारीबाट विद्युतका कंक्रिट पोल उत्पादन सुरु गरेको छ । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गत कंक्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुवारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन सुरु गरेको हो ।

प्लान्टबाट विद्युत वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका पोलहरु उत्पादन हुने छन् । १४ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टको वार्षिक पोल उत्पादन क्षमता ३३ हजार ५ सय ८० थान रहेको छ।

इन्जिनियरिङ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले शुक्रबार परीक्षण उत्पादनको निरीक्षण गरी नियमित रुपमा पूर्ण क्षमतामा पोल उत्पादन सुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिए। उनले प्लान्टबाट पोल उत्पादन सुरु भएपछि टाढाबाट पोल ल्याउँदा लाग्ने ढुवानी खर्च र समय बचत हुने उल्लेख गरे ।

आयोजना प्रमुख परमार धीरसेनका अनुसार कोभिड–१९महामारीको नियन्त्रण तथा रोकथाकका लागि जारी गरिएको निषेधाज्ञा र भारतबाट मालसामान तथा प्राविधिक आउन ढिलाई हुँदा परीक्षण उत्पादन निर्धारित समयभन्दा ढिलो भएको हो । उनले परीक्षण उत्पादनमा प्राविधिक समस्या नआएमा प्लान्ट केही दिनपछि पूर्ण क्षमतामा चल्ने जानकारी दिए ।

प्लान्टबाट उत्पादित पोलहरु मुख्य रुपमा प्रदेश नं १ र र २ का जिल्लाहरुमा आपूर्ति गरिने छ ।

प्राधिकरणले अहिले तनहुँको कोत्रे र पर्साको अमलेखगञ्जबाट कंक्रिट पोल उत्पादन गर्दै आएको छ भने कैलालीको लम्कीमा प्लान्ट निर्माणाधीन छ।

प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

PUBG Mobile and Naruto Shippuden announces partnership with coming Version 4.5

  • Technology Khabar
  • २९ श्रावण २०७८, शुक्रबार