
काठमाडौं ।
जनरल मोटर्सले गएको शनिबार पूर्ण विद्युतीय हम्मर एसयूभी सार्वजनिक गरेको छ। यो सन् २०२३ देखि बजारमा जाने र यसको प्रारम्भिक मूल्य १ लाख १० हजार डलर हुने बुझिएको छ।
यो विद्युतीय हम्मर एसयूभीको डिजाइन आउँदो हिउँदमा बजारमा जाने हम्मर पिकअपजस्तै देखिन्छ।
https://twitter.com/GMC/status/1378452522495512577
‘जनरल मोटर्सको विद्युतीय हम्मरको अवधारण गाडी यो सेगमेन्टकै सबैभन्दा शक्तिशाली विद्युतीय सुपरट्रकका रुपमा बनाइएको थियो’, जनरल मोटर्सका ग्लोबल भाइस प्रेसिडेन्ट डंकन अल्ड्रेडले एक विज्ञप्तिमा भने।
२०२४ हम्मर ईभी एसयूभीमा हम्मर पिकअपमा झैं ११, ५०० फुट पाउन्डको टर्क रहेको छ। तर यसले हम्मर पिकअपले भन्दा ५० माइल कम मात्र यात्रा गर्न सक्ने साथै यसमा १७० हर्सपावर शक्ति कम रहेको छ। यसबाहेक हम्मर पिकअपमा भन्दा सानो ब्याट्री भएका कारण पिकअपभन्दा कम गतियुक्क रहने बताइएको छ।
यसले मोडल अनुसार फुल चार्जमा २५० देखि ३०० माइलसम्म यात्रा गर्न सक्ने र साढे ३ सेकेन्डमा ० देखि ६० माइल प्रतिघण्टाको रफ्तार समाउन सक्ने दावी गरिएको छ। कम्पनीका अनुसार यसमा ८३० हर्सपावरसम्मको शक्ति उत्पादन हुन सक्छ।
यसको मूल्य बेस भेरियन्टको ८० हजार डलरदेखि लिएर १ लाख १० हजार डलरका हाराहारीसम्म पर्ने जनाइएको छ। जनरल मोटर्सले सन् २०२३ सम्म सबैभन्दा महंगा मोडेलहरुबाट उत्पादन शुरु गर्ने र त्यसपछि २०२४ को वसन्त ऋतुबाट सस्तो भेरियन्टहरुको उत्पादन थाल्ने बताएको छ। कम्पनीले आफ्नो वेबसाइटमार्फत् गाडीको रिजर्भेशन लिन शुरु गरेको छ।
प्रकाशित: २२ चैत्र २०७७, आईतवार