पोखरामा सूचना तथा प्रविधि मेला शुरु

  • Technology Khabar | ६ फाल्गुन २०७३, शुक्रबार
पोखरामा सूचना तथा प्रविधि मेला शुरु

काठमाडौं ।

पोखरा, ६ फागुन । कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल पोखराको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ कास्कीको सहयोगमा विहिबारदेखि पोखराको प्रदर्शनी केन्द्रमा चारदिने आठौँ सूचना तथा प्रविधि मेला तथा मोबाइल एक्स्पो शुरु भएको छ ।

चारदिने एक्स्पोको उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सूचना तथा प्रविधिको विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताए ।

उनले सर्वसाधारणमा सूचनाको पहुँच पुर्याउन सूचना तथा प्रविधिको क्षेत्रमा धेरै काम सुरु गरिएको जानकारी दिए ।

प्रदेश नं ४ को सदरमुकाम पोखरालाई सूचना तथा प्रविधिको केन्द्रविन्दु बनाउनुपर्नेमा जोड दिँदै उनले सबै राजमार्गमा अप्टिकल फाइबरको विस्तार, मोबाइल बैंकिङलगायतका सेवाबाट देशका कुनाकाप्चामा बस्ने सबै नेपालीले सहजरुपमा सूचना तथा प्रविधिको प्रयोग गर्न पाउने विश्वास व्यक्त गरे ।

क्यान महासङ्घका अध्यक्ष विनोद ढकालले सूचना तथा प्रविधि र सञ्चारलाई प्राथमिकता दिएर सबैलाई एकै ठाउँमा राखेर विकास गरिनुपर्नेमा जोड दिए।

सूचना प्रविधि तथा सञ्चार क्षेत्रका नेपालमा भित्रिएका नवीनतम प्रविधिहरुका बारेमा जानकारी दिने उद्देश्यले आयोजित मेला फागुन ८ गतेसम्म संचालन हुनेछ ।

१२५ वटा कक्ष राखिएको मेलामा सूचना प्रविधि प्रदर्शनी, आइसिटी कन्फ्रेन्स, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, इन्फोटेक अवधिभर आइटी क्विज कन्टेस्ट, कम्प्युटर तथा मोबाइलको निःशुल्क मर्मत सेवा र आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट उत्पादित सामाग्रीहरुको प्रदर्शनी गरिने छ ।

मोबाइल मेलामा २५ ब्रान्डका मोबाइल बिक्रीका लागि राखिने र बिक्री गरिने मोबाइलमा पाँचदेखि ५० प्रतिशत छुट दिइने बताइएको छ ।

प्रकाशित: ६ फाल्गुन २०७३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

मोटोरोलाले ग्लोबल कनेक्ट ईसिम एप लन्च गर्यो

  • Technology Khabar
  • ६ फाल्गुन २०७३, शुक्रबार