
काठमाडौं ।
काठमाडौं, २३ वैशाख । एभरेष्ट बैंकले संयुक्त राज्य अमेरिकाबाट जूम कर्पोरेशन (Xoom Corporation) सँगको साझेदारीमा डिजिटल मनी ट्रान्सफर (रेमिटान्स) सेवा शुरु गरेको छ ।
जूम कर्पोरेशनसँगको आवद्घताले नेपालका विभिन्न ठाउँहरुमा द्रुत गतिमा सुरक्षित रुपले रेमिट्यान्स भित्र्याउन सक्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत ए.के.अहलुवालियाले बताए । यसरी रेमिटान्स पठाउन चाहने ग्राहकहरुले अमेरिकी डलर १००० पठाए वापत जम्मा अमेरिकी डलर ४.९९ शुल्क संयुक्त साझेदार जूम कर्पोरेशनलाई बुझाउनु पर्ने बैंकले जानकारी दिएको छ । यसरी पठाएको रकम अमेरिकी बैंक खातामार्फत पठाएमा अमेरिकी डलर १००० भन्दा माथिको रकममा भने शुल्क नलाग्ने बैंकले जनाएको छ ।
जूम कर्पोरेशन, पेपाल सर्भिस अमेरिकाको प्रमुख डिजिटल मनी ट्रान्सफर कम्पनी हो जसले पैसा पठाउन, बील भुक्तानी तथा परिवार तथा आफन्तको मोबाईलको रिचार्ज वापतको भुक्तानी गर्न मोबाईल फोन, ट्यावलेट वा कम्प्यूटर मार्फत सुरक्षित, द्रुत र शुलभ तरिकाले सेवा प्रवाह गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।
एभरेष्ट बैंकले आफ्ना ६१ वटा शाखा, ५ वटा एक्स्टेन्सन काउण्टर, २४ वटा राजश्व संकलन काउण्टर र ८४ वटा एटिएम मेसिनका साथै देश विदेशमा रहेका ६०० सय भन्दा बढी प्रतिनिधिहरु मार्फत आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।
प्रकाशित: २३ बैशाख २०७३, बिहीबार