नेपाली सफ्टवेयर इन्जिनियरलाई लुट्न भारतमा अपराधीले गरे ८५० किलोमिटरको यात्रा

  • Technology Khabar | १८ चैत्र २०७८, शुक्रबार
नेपाली सफ्टवेयर इन्जिनियरलाई लुट्न भारतमा अपराधीले गरे ८५० किलोमिटरको यात्रा

काठमाडौं ।

छिमेकी देश भारतमा नेपाली सफ्टवेयर इन्जिनियरलाई लुट्न कुख्यात अपराधीले करिब ८५० किलोमिटर यात्रा गरेको घटना बाहिर आएको छ। यसै क्रममा भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको इटावाको सैफई क्षेत्रमा मुठभेडमा नेपाली सफ्टवेयर इन्जिनियर विशाल अर्याललाई लुट्ने एक अपराधीलाई पक्राउ गरेको दाबी गरेको छ।

भारतीय मिडियाका अनुसार यस मामलामा इटावाका एसएसपी जयप्रकाश सिंहले नेपाली सफ्टवेयर इन्जिनियरलाई लुट्ने आसिफ सैफीको साथबाट एक थान पेस्तोल, छ ओटा कारातूस र लुटिएको २ लाख भारतीय रुपैयाँमध्ये १ लाख ३५ हजार रुपैयाँ बरामद भएको बताएका छन्।

न्यूज१८ डटकमको समाचारअनुसार पक्राउ परेका लुटेराले नेपाली युवालाई लुट्न करिब ८५० किलोमिटर यात्रा गरेको एसएसपीले बताएका छन्। अपराधी दिल्लीको छेउमा रहेको यूपीको नोएडाको परी चोकबाट कारमा चढेर आगरा-लखनऊ एक्सप्रेसवे हुँदै बाराबंकी पुगेको थियो। त्यसपछि नेपाली सफ्टवेयर इन्जिनियरलाई कारमा नै बन्धक बनाएर कारलाई आगरा–लखनउ एक्सप्रेसवे हुँदै नोएडा फर्काइएको थियो तर इटावा जिल्लाको सैफई क्षेत्रमा रहेको १०४ माइलस्टोनमा डिजेल सकिएपछि कार रोकियो।

गाडी रोकिएपछि लुटेराले डिजेल हाल्ने प्रयास गरे र त्यही क्रममा बन्धक कारबाट बाहिरिए। त्यसपछि नेपाली सफ्टवेयर इन्जिनियरले आफूसँग भएको सम्पूर्ण घटना प्रहरीलाई जानकारी गराएका थिए।

इटावाका एसएसपी सिंहले सफ्टवेयर इन्जिनियर विशाल अर्याल नेपालको पाल्पाका बासिन्दा रहेको बताएको समाचारमा उल्लेख छ। तर उनी नेपाल वा भारतमा कुन कम्पनीमा कार्यरत छन भन्ने केहि जानकारी दिईएको छैन्।

समाचार रिपोर्टकाअनुसार उनी ग्रेटर नोएडास्थित आफ्नी बहिनीको घरबाट २९ मार्चमा टोयोटा इटियस कारमा सोनाली बोर्डर जाँदै थिए। यसैबीच एक अज्ञात यात्रुले यमुना एक्सप्रेसवेमा लखनउ जान भन्दै लिफ्ट मागे। लिफ्ट लिएर लखनउ पुग्दा ती व्यक्तिले बाराबंकी जाने कुरा गरेका थिए। त्यसपछि बाराबंकी पार गरेर गाडी टोल प्लाजामा पुगेपछि लिफ्ट लिने व्यक्तिले नेपाली सफ्टवेयर इन्जिनियरको कन्चटमा पेस्तोल राखेर कार रोकेका थिए।

नेपाली सफ्टवेयर इन्जिनियरकाअनुसार बाराबंकीपछि अपराधीले टोलमा पहिल्यै देखिरहेका आफ्ना अन्य दुई साथीलाई कारमा लिएर गए। त्यसपछि उनलाई कुटपिट गरेर, हात र मुख बाँधेर गाडीको पछाडि राखियो।

“यससँगै उनीहरुले मेरो मोबाइल, आधार कार्ड, २ लाख रुपैयाँ भरिएको झोला र अन्य महत्वपूर्ण कागजपत्र लुटेका छन् । उही समयमा, बदमाशहरूले उनको कार चलाए र लखनऊ-आग्रा एक्सप्रेसवेमा आगरा तर्फ लागे। यसैबीच, गाडीमा डिजेल सकिएपछि एक्सप्रेसवेको १०४ किलोमिटरमा रहेको पेट्रोल पम्पमा डिजेल खन्याउन थालेँ, अवसर सदुपयोग गरी हात–मुख खोलेर कारबाट बाहिर निस्केँ र चिच्याएँ । यी मानिसहरू बदमाश हुन् र मेरो गाडी र पैसा खोसे। यसपछि अपहरणकारीहरू मेरो गाडी छोडेर भागे,” उनले भारतीय प्रहरीलाई भनेका छन्।

उजुरीपछि प्रहरीको एक्सन

उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय सैफईबाट डकैतीको घटनाको पर्दाफास र अभियुक्त पक्राउ गर्न इलाका प्रहरी अधिकृत सैफईको नेतृत्वमा प्रहरी टोली गठन गरिएको थियो। त्यसपछि प्रहरीले विद्युतीय र म्यानुअल प्रमाणका आधारमा अपराधीलाई पक्राउ गर्न सम्भावित ठाउँमा छापा मारेको थियो। प्रहरीले विलिण्डा नहर पुल नजिकै इन्काउन्टर गरी गौतम बुद्धनगरका अपराधी आसिफबाट ६ थान लाइभ कारतूस, १ आधार कार्ड र १ लाख ३५ हजार ५ सय भारु बरामद गरेको छ। प्रहरी सोधपुछका क्रममा पक्राउ परेका अपराधीले यमुना एक्सप्रेस वेको नोएडास्थित जीरो प्वाइन्टबाट टोयोटा इटियोसका चालकसँग लिफ्ट मागेको बताए । त्यसपछि बाराबंकी पुगेपछि आफ्ना अन्य दुई साथीसँग मिलेर कार चालकलाई कुटपिट गरी रु दुई लाख, मोबाइल, आधार कार्डलगायत लुटपाट गरेको स्विकार गरेका थिए।

नेपाली सफ्टवेयर इन्जिनियरलाई लुट्ने आसिफ सैफीले सन् २०१८ मा नयाँ दिल्लीको भजनपुराबाट ७ वर्षीय बालकलाई अपहरण गरेका थिए । यस मामिलामा उनी लामो समय तिहाड जेलमा पनि थुनिएका थिए । सोही क्रममा घटनास्थलबाट फरार रहेका सैफीका अन्य दुई सहयोगीको पनि प्रहरीले खोजी गरिरहेको छ । एसएसपीले छिट्टै दुवै लुटेरालाई पनि पक्राउ गर्ने दावी गरेको समाचार रिपोर्टमा उल्लेख छ।

प्रकाशित: १८ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार