
काठमाडौं ।
भारतमा गुगलको समस्या आगामी दिनहरुमा बढ्न सक्ने देखिएको छ। भारतीय प्रतिस्पर्धा आयोग (सीसीआई) ले कम्पनी विरुद्ध गरेको अनुसन्धानमा बाहिरिएको तथ्यअनुसार एप विकासकर्ताका लागि बनाइएको बिलिङ सिस्टम नियम अनुचित मात्र नभएर भेदभावपूर्ण पनि भएको उल्लेख छ। यति मात्र होइन, गुगलले आफ्नो पेमेन्ट एप गुगल पेको अनुचित प्रचार गरिरहेको छ। यो तथ्य छानबिन आयोगका अतिरिक्त महानिर्देशकले गरेका हुन् ।
गुगलको नयाँ नियम अनुसार एप विकासकर्ताले कम्पनीको आफ्नै बिलिङ सिस्टमबाट इन-एप खरिद गर्न अनिवार्य गरिएको छ। यसले भारतीय स्टार्ट-अपहरूमा धेरै असन्तुष्टि पैदा गरेको छ। उनीहरूले गुगलले गुगल पेबाट अन्य प्रतिस्पर्धी एपहरूलाई अनुचित रूपमा साइडलाइन गरेर आफ्नो प्रभुत्वको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।
भारतीय मिडिया ईटीमा प्रकाशित रिपोर्टअनुसार छानबिनको नतिजाको सुनुवाइ छिट्टै सुरु हुन सक्छ। गुगलले भारतको प्रतिस्पर्धा आयोग समक्ष आरोप र अनुसन्धानको नतिजाको जवाफ दिनुपर्नेछ।
उता, गुगलले आफ्ना नियमहरू पूर्ण रूपमा सही र सबैका लागि फाइदाजनक भएको बताएको छ। सीसीआईले २०२० र २०२१ मा परेका गुगल विरुद्ध तीन ओटा उजुरीहरू एकैसाथ छानबिन गरिरहेको छ। गुगलले प्ले स्टोर र एन्ड्रोइड अपरेटिङ सिस्टममा आफ्नो एकाधिकार प्रयोग गरेर अन्य एपभन्दा गुगल पेलाई प्राथमिकता दिएको आरोप छ।
रिपोर्टकाअनुसार गुगलले आफ्ना केही एपका लागि गुगलको बिलिङ पेमेन्ट सिस्टम प्रयोग नगरेको अनुसन्धानबाट खुलेको स्रोतले जनाएको छ। साथै, उसले अन्य विकासकर्ताहरूलाई भुक्तानी गर्न अनिवार्य बनाएको छ। यसले प्ले स्टोरको भुक्तानी नीति भेदभावपूर्ण छ भन्ने देखाउने रिपोर्टको दाबी छ।
सीसीआईले यस विषयमा ठूलो गहिराइ र पारदर्शिताका साथ छानबिन गरेको बताईएको छ। उसले सबै विकासकर्ताहरूबाट जानकारी सङ्कलन गरेका छन् र प्रणालीको गहिराइमा अध्ययन गरेका छन्। जसका कारण यी नीतिहरू कार्यान्वयन भएमा विकासकर्तालाई ठूलो नोक्सान हुने निष्कर्षमा आयोग आएको छ । आयोगले गुगलले गुगल पे प्रवर्द्धन गर्न ‘सर्च’ हेरफेर गरेको आरोपको पनि छानबिन गरेको छ।
सीसीआईले भारतीय रिजर्भ बैंकलाई पनि यस विषयमा छानबिन गर्न आदेश दिएको छ।
गुगलले भने सो बारेमा नियमनकारी निकायसँग सम्पर्कमा रहेको जनाएको छ।
प्रकाशित: १९ चैत्र २०७८, शनिबार