काठमाडौं ।
बीमा क्षेत्रमा काम गर्ने बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न बीमा समिति नै धाइरहनु नपर्ने भएको छ।
मङ्गलबारदेखि अनलाइन प्रणालीमार्फत बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरणको सुरुवात भएसँगै बीमा समितिमै धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो ।
नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली संचालकको अनुमतीप्राप्त संस्था नेपाल क्लियरिङ हाउस लिमिटेडको कनेक्ट आईपीएसमार्फत डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरणका लागि लाग्ने दस्तूर बीमा समितिको खातामा बुझाएर बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ।
अब देशभरका जुनसुकै स्थानमा रहेका बीमा सर्भेयर र बीमा अभिकर्ताले आफू रहेको स्थानबाटै अनलाइन प्रणालीबाट इजाजतपत्र नवीकरणका लागि लाग्ने शुल्क बुझाउन र अनलाइनबाटै इजाजतपत्र नवीकरण भएको जानकारी प्राप्त गर्न सक्ने समितिले जानकारी दिएको छ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले ललितपुरको कुपन्डोलस्थित समितिको कार्यालयमा बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीरकण गर्ने कार्यको शुभारम्भ गरे ।
अध्यक्ष सिलवालले देशका पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म छरिएर रहेका करिब तीन लाख अभिकर्ताले डिजिटल माध्यमबाटै इजाजतपत्र नवीकरण गर्न पाउने भएपछि बीमाको पहुँच विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
हाल देशभर नवीकरण योग्य बीमा सर्भेयरको सङ्ख्या करिब एक हजार २७० र बीमा अभिकर्ताको सङ्ख्या करिब तीन लाख रहेका छन्।
बीमा सर्भेयर र बीमा अभिकर्ताले Connect IPS को site मा गएर Semigovernment मा रहेको बीमा समितिको लोगोमा क्लिक गरेपछि देखिने बीमा सर्भेयर र बीमा अभिकर्ता पेमेन्टमा गएर इजाजतपत्र नम्बर र जारी मिति टाइप गरेपछि नबीकरणका लागि लाग्ने शुल्कको जानकारी System ले नै Calculate गरेर दिन्छ । तत्पश्चात् अनलाइनबाटै नवीकरण शुल्क बुझाउन सकिन्छ र त्यसरी बुझाएको रकमको रसिद PDF फाटमा प्रिन्ट गर्न सकिनेछ ।
संस्थागत बीमा सर्भेयरले Connect IPS मार्फत बीमा समितिको खातामा इजाजतपत्रको नबीकरण शुल्क बुझाउनुका साथै समितिको इमेल [email protected] मा संस्था नवीकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नवीकरण अघिका कामको विवरण पठाएपछि बीमा सर्भेयर इजाजतपत्र नबीकरण हुने व्यवस्था छ।
व्यक्तिगत बीमा सर्भेयरले भने Connect IPS मार्फत नबीकरण शुल्क र कामको विवरण बुझाएपछि इजाजतपत्र नबीकरण हुनेछ। यसैगरी, संस्थागत बीमा अभिकर्ताले पनि Connect IPS मार्फत बीमा समितिको खातामा इजाजतपत्रको नबीकरण शुल्क बुझाउनुका साथै समितिको इमेल [email protected] मा संस्था नवीकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नवीकरण अघिका कामको विवरण पठाएपछि इजाजतपत्र नबीकरण हुने व्यवस्था गरिएको जनाएको छ।
प्रकाशित: ९ चैत्र २०७८, बुधबार