काठमाडौं ।
कोरियाली टेक जायन्ट सामसङले भारतमा आफ्नो पहिलो मोबाइल स्टोर खोलेको छ, जसमा पूर्णतया महिला कर्मचारी छन्। यो अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर भारतको अहमदाबादमा सुरु भएको थियो।
यो कम्पनीको #PoweringDigitalIndia पहलको हिस्सा भएको भारतीय मिडियाहरुले जनाएका छन्। स्टोरले भारतीय उपमहाद्वीपमा महिलाको शक्तिलाई बढावा दिएर सामसङको बजार हिस्सा बढाउने लक्ष्य राखेको छ। सामसङ स्मार्ट क्याफेमा महिला कर्मचारी सेटअपमार्फत ग्राहकहरुलाई किनमेलको नयाँ अनुभव प्रदान गर्ने प्रयास गरिएको छ।
रिपोर्टकाअनुसार यहाँ कार्यरत स्टोर प्रबन्धकहरू, सामसङ एक्सपेरियन्स कन्सल्टेन्ट्स र अन्य कर्मचारीहरूले ‘सामसङ ग्यालेक्सी इकोसिस्टम’ साथै लेखा, इन्भेन्ट्रि व्यवस्थापन र ग्राहक सेवामा विशेष तालिम प्राप्त गरेका छन्।
यस स्टोरमा गएर ग्राहकहरूले सामसंग मोबाइल उपकरणहरूको पूर्ण दायराको अनुभव लिन सक्ने र किन्न सक्ने बताईएको छ। यसमा ग्यालेक्सी एस२२ सिरिजका स्मार्टफोन, ग्यालेक्सी ट्याब एस८ सिरिज, ग्यालेक्सी बड्स२ र ग्यालेक्सी वाच ४ लगायत समावेश छन्।
नयाँ स्टोरको बारेमा टिप्पणी गर्दै, सामसंग दक्षिण पश्चिम एशियाका अध्यक्ष र सीईओ केन काङले भने, “कम्पनी भारतमा पहिलो महिला कर्मचारी मात्र भएको मोबाइल स्टोर स्थापना गर्न पाउँदा उत्साहित छ।” उनले यो मोबाइल स्टोर सामसङको मूल्यसँग पूर्ण रूपमा फिट हुने बताए। काङका अनुसार सामसङ आफ्नो कार्यस्थलमा महिलाको संख्या बढाउनमा केन्द्रित छ ।
यसका साथै अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा, सामसङले WiSE (Women in Samsung Electronics) नामक कर्मचारी स्रोत समूह पनि स्थापना गरेको छ, जसले महिला कर्मचारीहरूलाई व्यक्तिगत र करियर विकासमा सहयोग र समर्थन प्रदान गर्ने रिपोर्टमा उल्लेख छ।
प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार