
काठमाडौं ।
विश्वको सबैभन्द ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले बहराइनमा खाडी मुलुकको पहिलो क्रिप्टो लाइसेन्स पाएको छ।
बाइनान्सलाई हालै बहराइनको केन्द्रीय बैंकले क्रिप्टो-सम्पत्ति सेवा प्रदायकको लाइसेन्स प्रदान गरेको र यस्तो प्रकारको लाइसेन्स गल्फ कोअपरेशन काउन्सिलमै पहिलो भएको कम्पनीले जानकारी दिएको रोयटर्सले जनाएको छ।
‘बहराइनको लाइसेन्स विश्वभरमा पूर्णरुपमा लाइसेन्स लिएर सञ्चालन हुने हाम्रो यात्राको एउटा कोशेढुंगा हो’, बाइनान्सका सीईओ चाङपेङ झाओले बहराइनका अधिकारीसमक्ष संयुक्त विज्ञप्तिमार्फत् जनाएका छन्।
उनले नियामकहरुको शर्तले यूजरहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादविरुद्धको वित्तीय नीतिबाट जोगाउने विचार पनि व्यक्त गरे।
विश्वभरका वित्तीय नियामकहरुले प्रतिबन्ध लगाएर तथा उपभोक्तालाई लाइसेन्सबिना चलेको भन्दै चेतावनी दिएर बाइनान्समाथि केन्द्रित भएको रोयटर्सले लेखेको छ।
हाल प्राप्त भएको लाइसेन्समार्फत् क्रिप्टो सम्पत्तिको कारोबार तथा पोर्टफोलियो व्यवस्थापनलगायतको काम गर्न पाइने बताइएको छ।
बाइनान्सले यूएईमा पनि आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ। गत वर्षको डिसेम्बरमा कम्पनीले भर्चुअल सम्पत्तिको अन्तरराष्ट्रिय इकोसिस्टम बनाउन र त्यसमार्फत् भर्चुअल सम्पत्ति नियमनलाई सघाउ पुर्याउन दुबईको वर्ल्ड ट्रेड सेन्टरसँग सहकार्य गरिरहेको बताएको थियो।
प्रकाशित: २ चैत्र २०७८, बुधबार