
काठमाडौं ।
सरकारले सामाजिक संजालमार्फत सेना प्रहरीलगायतका सुरक्षा निकायसँग सम्बन्धित भिडियो तथा तस्विरहरु राखेर भ्रामक तथा झुटा जानकारीहरु फैलाएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।
गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा विभिन्न व्यक्तितथा समूहले प्रविधिको दूरुपयोग गरेको भन्दै त्यस्ता कार्यहरु गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो।
मन्त्रालयले फेसबुक, युट्युब, टिकटक इन्स्टाग्रामलगायतका विभिन्न सामाजिक संजालहरुमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा निकायसँग सम्बन्धित भिडियो तथा तस्बिरहरु प्रकाशन तथा शेयर गरेर समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने प्रवृत्ति देखिएको भनेको छ।
त्यस्ता क्रियाकलापमा संलग्न जोसुकैलाई विद्युतीय कारोकार ऐन, २०६३ को दफा ४७ अन्तरगतको कसूमा कानूनी कारबाही गर्ने भन्दै यस्तो कार्य गरेको पाईएमा सोको जानकारी नजिकको प्रहरी इकाई वा जिल्ला प्रशासन कार्यालयमा गराउन अनुरोध गरेको छ।
प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार