
काठमाडौं ।
नेपाल प्रेस काउन्सिलले आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण गर्ने २२ ओटा अनलाइन मिडियाहरुलाई सचेत गराएको छ।
काउन्सिलले सूचना तथा प्रशारण विभागमा दर्ता र काउन्सिलमा सूचीकरण नभएका १० वटा वेबपोर्टलहरुलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दुरसञ्चार प्राधिकरणमा पत्राचार गरेको हो।
प्रेस काउन्सिलले पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जाल (युट्युब) बाट सम्प्रेषण भएका सामग्रीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
त्यसैगरी कुनै मिडियाअन्तर्गत आवद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरि नाम, तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष–विपक्षमा सामग्री सम्प्रेषण भएको भन्दै काउन्सिलले २२ अनलाइनलाई सचेत गराएको हो।
विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्ष–विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा पत्रकार आचारसंहिता, २०७३ ९पहिलो संशोधन, २०७६० को दफा ५९११०, ५९४० र ४९९० को ठाडो उल्लङ्घन भएको वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘अदालतमा विचाराधीन रहेका यस्ता मुद्दाको न्यायिक छानबिनलाई प्रभाव पर्ने किसिमबाट सामग्री सम्प्रेषण नगर्न/नगराउन काउन्सिलले सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तालाई अपिलसमेत गरेका छौं’, काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भने।
यसैबीच अनलाइन टिभी, सामाजिक सञ्जाल (विशेषगरी युट्युब च्यानल)हरूमा सम्प्रेषित सामग्रीबारे काउन्सिलमा उजुरी र गुनासाहरू बढिरहेका सन्दर्भमा यसको नियमन र व्यवस्थापनका निमित्त सुझाव दिनका लागि कार्यदलसमेत गठन गरिएको छ।
प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार