
काठमाडौं ।
भारतको गुडगाउँमा आधारित स्टार्टअप हपचार्जले अन-डिमाण्ड, डोरस्टेप, फास्ट विद्युतीय गाडी चार्जिङ सेवा सुरु गरेको छ। केही समयदेखि कम्पनीले गुडगाउँमा पाइलट प्रोजेक्टको रूपमा यो सेवाको परीक्षण गरिरहेको थियो।
अब कम्पनीले आगामी महिनाहरूमा यो डोरस्टेप ईभी चार्जिङ सर्भिस भारतका सबै प्रमुख महानगरहरूमा जारी गरिने जनाएको छ। यस्तो सेवा संसारकै पहिलो भएको भारतीय मिडियाहरुले जनाएका छन्।
यो सेवाअन्तर्गत विद्युतीय सवारी साधन मालिकले कम्पनीले जारी गरेको एपमार्फत आफ्नो सुविधाअनुसार चार्जिङ भ्यान कल गर्न सक्नेछन् । यो सेवा कुनै पनि ईलेक्ट्रिक भेहिकल (ईभी) मालिकको लागि धेरै उपयोगी हुन सक्नेछ जब उसको इलेक्ट्रिक कार बाटोमा पूर्णरूपमा चार्ज समाप्त भएर अलपत्र पर्दछ।
२०१९ मा स्थापना भएको हपचार्जले बताएअनुसार स्टार्टअपले चार्जिङ सुविधा उपलब्ध नहुनु, घरमा ढिलो चार्जिङ र विद्युतीय सवारीसाधन चार्ज गर्न लाग्ने समय जस्ता चुनौतीहरूलाई सम्बोधन गरिरहेको छ।
कम्पनीले भनेको छ, ‘हपचार्जको मेड-इन-इण्डिया, पेटेन्ट गरिएको फास्ट चार्जिङ टेक्नोलोजीले मोड्युलर र मोबाइल चार्जिङ पूर्वाधारलाई सक्षम बनाउँछ जसले स्थानीय ग्रिडसँगै महँगो ग्रिड अपग्रेडको आवश्यकतालाई हटाउँछ र ईभी मालिकहरूलाई समय बचत गर्न पनि मद्दत गर्छ।’
हपचार्ज प्रयोगकर्ताले प्रतिकिलोमिटर कम्तिमा भारु ३ देखि भारु ४ तिर्नुपर्ने रिपोर्टमा भनिएको छ, जुन प्रति किलोवाट आवर चार्जिङको करिब २० भारतीय रुपैयाँ हो। तर, यो सेवा लिँदा ईभी मालिकलाई आफ्नो कार घर वा चार्जिङ स्टेसनमा चार्ज गर्ने तुलनामा महँगो पर्ने रिपोर्टमा उल्लेख छ। तर यो एक अन-डिमाण्ड सेवा हो
हपचार्जको पेटेन्ट टेक्नोलोजीले ब्याट्री लाइफको पनि ख्याल राख्ने दाबी गरेको छ, जसले गर्दा यसको आयु लामो हुन्छ।
इच्छुक प्रयोगकर्ताहरूले एप मार्फत डोरस्टेप ईभी चार्जिङ सेवा लिन सक्ने बताइएको छ। यो एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ। एपले ईण्ड-टू-ईण्ड प्रक्रियाहरूको लागि एक अद्वितीय प्रविधि-संचालित ब्याकएन्ड ऊर्जा व्यवस्थापन प्रणालीलाई समर्थन गर्दछ र विश्वव्यापी रूपमा बेचिने सबै ईभीहरूलाई सपोर्ट गर्ने बताईएको छ ।
कम्पनीले विभिन्न सदस्यता मोडेलहरूमा काम गर्दछ, जसको माध्यमबाट प्रयोगकर्ताहरूले अन-डिमान्ड चार्जिङका लागि बुक गर्न सक्छन्। यी सदस्यता मोडेलहरू ग्राहकहरूको विभिन्न चार्जिङ आवश्यकताहरूलाई ध्यानमा राखेर डिजाइन गरिएको बताईएको छ।
रिपोर्टकाअनुसार कम्पनीले चार्जिङ प्रणाली लन्च गर्न पनि काम गरिरहेको छ, जसमा कनेक्टेड र पोर्टेबल पावर बैंकहरू समावेश छन्।
प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार