
काठमाडौं ।
अनलाइनमार्फत बसोबास तथा आवास बुकिङ्ग गर्न सकिने सेवा दिँदै आएको एयरबीएनबीले युक्रेन छोड्न बाध्य एक लाख शरणार्थीहरूलाई निःशुल्क अस्थायी आवास प्रदान गर्ने सोमबार घोषणा गरेको छ।
कम्पनीले यी बसाइहरूलाई एयरबीएनबी होस्टहरू र एयरबीएनबी डट ओआरजी शरणार्थी कोषमा चन्दा दिनेहरुको सहयोगमा संचालन गर्नेछ।
एसोसिएटेड प्रेसकाअनुसार युद्ध सुरु भएदेखि ५ लाख भन्दा बढी युक्रेनीहरू देशबाट भाग्न बाध्य भएका छन्। संयुक्त राष्ट्रसंघका लागि युक्रेनका राजदूतले सोमबार मस्कोले आफ्नो सीमामा थप सेना र हतियार पठाए पनि कीभले रसियासँग कूटनीतिक समाधानको आशा गरेको बताएका थिए।
“हामीलाई यो लक्ष्य पूरा गर्न मद्दत चाहिन्छ,” एयरबीएनबीका सह-संस्थापक र सीईओ ब्रायन चेस्कीले ट्विटरमा भने, “हामीलाई पोल्याण्ड, जर्मनी, हंगेरी र रोमानिया लगायत नजिकका देशहरूमा आफ्नो घर प्रस्ताव गर्न सक्ने धेरै व्यक्तिहरूको सबैभन्दा ठूलो आवश्यकता छ।”
यो पहल कम्पनीको गैर-नाफामूलक कार्य एयरबीएनबी डट ओआरजी मार्फत शरणार्थीहरूलाई सहयोग गर्ने एयरबीएनबीको प्रयासहरूको एक हिस्सा भएको सीएनबीसीले रिपोर्ट गरेको छ।
यसअघि गत सेप्टेम्बरमा, कम्पनीले ४० हजार अफगान शरणार्थीहरूलाई निःशुल्क, छोटो अवधिको आवास उपलब्ध गराउने योजना बनाएको थियो, जुन अगस्टमा घोषणा गरिएको २० हजारको प्रारम्भिक लक्ष्यभन्दा दोब्बर छ। गत हप्ता सम्म, एयरबीएनबीले २१,३०० अफगान शरणार्थीहरूलाई आवास उपलब्ध गराएको बताएको छ।
यसको शरणार्थी कोष गत वर्ष सुरु भएको थियो।
एयरबीएनबीले पछिल्लो प्रतिबद्धतामा कति खर्च गर्ने योजना बनाएको छ वा शरणार्थीहरूलाई कति समयसम्म बसाइनेछ भन्ने स्पष्ट पारेको छैन्। नि:शुल्क वा छुट बसाइ प्रस्तावलगायतका कार्यहरुमा आयोजकहरूले यस पहललाई कसरी समर्थन गर्न सक्छन् भन्ने बारेमा थप जानकारी आगामी दिनहरूमा प्रदान गरिने कम्पनीले बताएको छ।
प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार