
काठमाडौं ।
धनगढी उप महानगरपालिकाले नमस्ते मेयर मोबाइल एप आरम्भ गरेको छ। उप महानगरपालिकाले गरिरहेको कामबारे जानकारी दिने र नगरवासीको गुनासो सुनुवाइका लागि नमस्ते मेयर मोबाइल एप आरम्भ गरिएको हो।
युएनडीपीको सस्थागत सुधार मार्फत न्यायमा पहुँच परियोजना अन्तर्गत संचालित कार्यक्रम अन्तर्गत मोबाइल एप ल्याइएको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सहसचिव फणीन्द्र गौतम र धनगढी उप महानगरपालिकाका मेयर नृपबहादुर वडले संयुक्त रूपमा नमस्ते मेयर मोबाइल एपको लोगो सार्वजनिक गरे।
सो क्रममा गौतमले धनगढी उप महानगरपालिकाले गुनासो सुन्नेमात्रै नभई अब त्यसको सुनुवाइ पनि गर्ने विश्वास व्यक्त गरे।
धनगढी उपमहानगरपालिकाका मेयर वडले एप मार्फत उप महानगरपालिकाका सम्पुर्ण जानकारी लिन सकिने बताए। उनले आम नागरिकलाई जायज गुनासा, सल्लाह र सुझाव दिन आग्रह गरे।
लोगो सार्बजनिक संगै हस्ताक्षरित सम्झौता पत्र समेत आदानप्रदान गरिएको थियो।
एपमा नगर भित्रका समस्या र गुनासाका साथै उपनगरपालिकाले दिइने सेवा सुविधाका बारेमा समेत जानकारी लिन सकिने छ। त्यस्तै एप मार्फत गुनासो गर्ने व्यक्तिकाे गोपनियता समेत रहने यो एपमा गुनासो गर्ने व्यक्तिकाे तत्काल सम्बन्धित फाँटमा पुर्याएर सम्बोधन गरिने छ।
सार्बजनिक गरिएको एप छिट्टै प्ले स्टोरबाट डाउनलोड गर्न सकिने जनाइएको छ।
प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार