युक्रेनमा रुसको आक्रमणका साथै साइबर हमला पनि जारी

  • Technology Khabar | १३ फाल्गुन २०७८, शुक्रबार
युक्रेनमा रुसको आक्रमणका साथै साइबर हमला पनि जारी

काठमाडौं ।

रुस र युक्रेनबीचको युद्ध क्षेप्यास्त्र र भौतिक आक्रमणमा मात्र सीमित छैन । युक्रेनमा साइबर हमला पनि भइरहेको छ। युक्रेनको संसदलगायत धेरै सरकारी तथा बैंकिङ वेबसाइटहरूमा बुधबार साइबर हमला भएको थियो।

साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले भनेअनुसार अज्ञात आक्रमणकारीहरूले सयौं कम्प्युटरहरूलाई मालवेयरले संक्रमित गरेका छन्। छिमेकी लाटभिया र लिथुआनियाका केही कम्प्युटरहरू पनि यसको शिकार भएको बताईएको छ।

जानकारीकाअनुसार युक्रेनको विदेश मन्त्रालय र परिषद् तथा मन्त्रीहरूको वेबसाइटलाई पनि निशाना बनाइएको छ। तिनीहरूको लोडिङ एकदमै ढिलो भएको थियो र साइबर आक्रमणहरू एकपछि अर्को गर्दै भएका थिए। यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।

ईसेट रिसर्च ल्याब्सले बताएअनुसार यसले “देशका सयौं मेसिनहरूमा” डाटा वाइप गर्ने मालवेयर पत्ता लगाएको छ। यस प्रकारको मालवेयर पहिले देखिएको थिएन। यसबाट कति सञ्जाल प्रभावित भएका छन् भन्ने पनि थाहा छैन । रिसर्च ल्याबहरूले धेरै ठूला संस्थाहरू यस मालवेयरको निशानामा भएको बताए।

यसैबीच, सिम्यान्टेक थ्रेट इन्टेलिजेन्सले वाइपर मालवेयरबाट प्रभावित तीन संस्थाहरू पत्ता लगाएको छ। यसमा लाटभिया र लिथुआनियाका युक्रेनी सरकारी ठेकेदारहरू र युक्रेनको वित्तीय संस्था समावेश छन्। स्मरण रहोस् लाटभिया र लिथुआनिया दुबै नाटोका सदस्य हुन्। साइबर आक्रमणकारीहरूले कुन देशलाई लक्षित गर्दै छन् भन्ने कुराको पनि वास्ता नगर्ने विज्ञहरू बताएका छन्।

निशाना बनाइएका तीन ओटा संगठन युक्रेनी सरकारसँग नजिक थिए। फाइनान्सियल इन्स्टिच्युटमा भएको साइबर हमलामा करिब ५० कम्प्युटरलाई निशाना बनाइएको थियो । तिनीहरूको धेरै डाटा मेटाइयो। युक्रेनका सिनियर साइबर डिफेन्स अफिसर भिक्टर जोराले वाइपर आक्रमणबारे केही भनेका छैनन्। यो मालवेयर डिसेम्बरको अन्त्यमा तयार गरिएको बताइएको छ।

साइबर सेक्युरिटी फर्म सोफोसका प्रमुख अनुसन्धान वैज्ञानिक चेस्टर विस्निव्स्कीले भने, “रूसले धेरै महिनादेखि यो योजना गरिरहेको हुन सक्छ। यी आक्रमणको तयारीमा कति संगठन वा एजेन्सी संलग्न छन् भन्न गाह्रो छ। सायद आक्रमणकारीहरूले युक्रेनको पूर्वाधारमा आफ्नो नियन्त्रण कति छ भनेर देखाउन चाहन्छन्।”

अहिले विज्ञहरूले आक्रमण कत्तिको गम्भीर छ भनेर बुझ्न प्रयास गरिरहेका छन्। यसअघि जनवरीमा पनि युक्रेनी सरकार र संस्थाका धेरै वेबसाइटहरू साइबर आक्रमणमा परेका थिए। त्यसबेला युक्रेनले यसका लागि रुसलाई दोष दिएको थियो।

युक्रेनमा साइबर हमला रुसी आक्रमणको प्रमुख औजार बनेको छ। यसअघि रुसले सन् २००७ मा इस्टोनिया र २००८ मा जर्जियामाथि साइबर हमला गरेको मानिन्छ।

प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार