काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले प्रतिबन्धित अनलाइन मुद्राको कारोबार (क्रिप्टोकरेन्सी), हाइपर फन्ड तथा अनलाइन ठगीबारे अनुसन्धान गर्न विशेष समिति गठन गरेको छ । यसबारे पहिलो पटक अनुसन्धान गर्न लागिएको हो ।
प्रहरी प्रधान कार्यालयले आन्तरिक रूपमा गठन गरेको उक्त कमिटीको संयोजक अपराध अनुसन्धान विभागका वरिष्ठ प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङ रहेको गोरखापत्रले उल्लेख गरेको छ।
सात सदस्यीय कमिटीमा महानगरीय प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुरबाट एक/एक जना अनुसन्धान अधिकृत, महानगरीय अपराध महाशाखा तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) साइबर क्राइम ब्युरोबाट समेत एक/एक जना प्रतिनिधि रहेका छन्।
प्रहरी मुख्यालयले गठन गरेको सो कमिटीले नेपालमा पछिल्लो समय कारोबार बढिरहेको क्रिप्टोकरेन्सीअन्तर्गतका बिटक्वाइन, डजीक्वाइनलगायत हाइपर फन्ड तथा अनलाइन ठगी नियन्त्रणको प्रभावकारी उपाय पहिचान गर्ने जनाइएको छ।
यसअघि अर्थ मन्त्रालयले समेत टास्क फोर्सको रुपमा अध्ययन समिति गठन गरिसकेको छ। जसमा नेपाल प्रहरीका प्रतिनिधिसमेत सदस्यको रुपमा छन्। सो समितिले नेपालमा भईरहेका क्रिप्टोकरेन्सी, हाइपर फन्ड तथा अनलाइन नेटवर्किङ्गलगायतको बारेमा अध्ययन गरेर सुझाब दिनेछ।
यसअघि पनि प्रहरीले विभिन्न व्यक्तिहरुलाई क्रिप्टोकरेन्सी, हाइपर फन्ड तथा अनलाइन ठगीको घट्नामा पक्राउ गरेर मुद्दा चलाउँदै आएको छ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपर फन्ड तथा अनलाइन नेटवर्किङ्ग लगायतका कार्य गैरकानूनी भएको बताईसकेको छ। सोही आधारमा प्रहरीले कानूनी कारबाही गर्दै आएको छ।
प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार