
काठमाडौं ।
मेटा अन्तर्गतको फेसबुकमा उपलब्ध हुँदै आएको ‘न्यूजफीड’ नाम कम्पनीले परिवर्तन गर्ने भएको छ।
जीएसएमएरिनाले कम्पनीको ट्विटर एकाउन्टमा गरिएको पोस्टलाई उद्धृत गर्दै उल्लेख गरे अनुसार फेसबुकले न्यूजफीड फिचर नै हटाउन लागेको नभई यसबाट न्यूज निकालेर ‘फीड’ को नाममा रिब्राण्डिङ गर्न लागेको हो।
द भर्जलाई पठाएको एउटा पत्रमा फेसबुकले ‘यूजरले आफ्ना फीडमा पाउने विविध सामग्रीहरुलाई प्रतिनिधित्व गर्नेगरी नाममा मात्रै परिवर्तन गरिएको’ उल्लेख भएको जीएसएमएरिनाले लेखेको छ।
Starting today, our News Feed will now be known as "Feed." Happy scrolling! pic.twitter.com/T6rjO9qzFc
— Facebook (@facebook) February 15, 2022
कम्पनीले यो नाम परिवर्तनका कारण एप चलाउने अनुभवमा कुनै उल्लेख्य प्रभाव नपर्ने पनि जनाएको छ।
फेसबुक लगभग २.८९ अर्ब मासिक एक्टिभ यूजर रहेका विश्वभरमा प्रयोग गरिने चर्चित सोसल नेटवर्क एप हो।
केही समययता मेटाले आफ्नो प्लेटफर्ममा किशोर किशोरीको मानसिक स्वास्थ्यलाई असर गर्ने सामग्री राखेको भन्दै आलोचना भइरहेको र केही दिनअघि मात्रै पनि यसले यूरोपेली प्रयोगकर्ताको डाटा दुरुपयोग गरेको आरोपमा ईयूको दबाब पनि झेल्नुपरेको थियो।
प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार