५० मेगापिक्सेलको क्यामरायुक्त नोकिया जी२१ सार्वजनिक

  • Technology Khabar | २ फाल्गुन २०७८, सोमबार

काठमाडौं ।

नोकियाले आफ्नो नयाँ स्मार्टफोन जी२१ सार्वजनिक गरेको छ।

यो डिभाइस जी२० को सिक्वेलका रुपमा आएको हो। कम्पनीले यो सेटमा यसअघिको तुलनामा ब्याट्री, स्क्रीन तथा क्यामरामा निकै सुधार गरिएको दावी गरेको छ।

तर कम्पनीले उल्लेख गरेका कुनै पनि क्षेत्रमा ल्याइएको सुधार भने उल्लेख्य नभएको र कम्पनीले डिजाइनको पाटोमा अलि बढी जोड दिएको जीएसएमएरिनाले जानकारी दिएको छ।

कम्पनीले भरपर्दोपनालाई जी२१ को मुख्य विशेषताका रुपमा दर्शाएको छ। यो फोनमा ५,०५० एमएएच ब्याट्री दिइएकाले यो लगातार ३ दिनसम्म चल्ने कम्पनीको भनाई छ।

एचएमडीले यो मोबाइलको पावर सेभिङ मोडमा सुधार ल्याएको छ। यसले कम्पनीलाई पहिलो लेभलमा १० को सट्टा २० प्रतिशत पावर सेभ गर्न सक्षम तुल्याएको छ। यसबाट ब्याट्री लाइफ पहिलेको तुलनामा अझ बढ्ने जीएसएरिनामा उल्लेख छ।

यसमा ६.५ इन्चको ९० हर्ज रिफ्रेश रेटयुक्त एलसीडी डिस्प्ले दिइएको छ जुन जी सिरिजमा पहिलो पटक दिइएको हो। यसमा नेटफ्लिक्स एचडी रेजोल्युशनमा स्ट्रिम गर्न सकिन्छ।

यसमा पछाडि ५० मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप तथा यूनिसोक टी६०६ चिपसेट राखिएको छ। यो डिभाइसमा ४ जीबी र्याम तथा ६४ र १२८ जीबी आन्तरिक स्टोरेज दिइएको छ।

एन्ड्रोइड १२ र १३ सम्म अपग्रेड गर्न मिल्नेगरी एन्ड्रोइड ११ ओएस राखिएको यसमा फिंगरप्रिन्ट सेन्सर साइडपट्टि राखिएको छ।

यसको शुरुशवाती मूल्य १७० यूरो तोकिएको छ भने नर्डिक ब्लू र डस्क गरी दुई रंगमा उपलब्ध हुने बताइएको छ।

यो पूर्णरुपमा रिसाइकल गरिएका सामग्रीबाट बनाइएको एचएमडीले जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया