ओप्पो स्मार्टफोन नेपाल भित्रँदै, आगामी साता सार्वजनिक हुने

  • Technology Khabar | २४ भाद्र २०७३, शुक्रबार
ओप्पो स्मार्टफोन नेपाल भित्रँदै, आगामी साता सार्वजनिक हुने

काठमाडौं ।

काठमाडौं, २४ भदौ । नेपाली बजारमा नयाँ स्मार्टफोन ब्राण्ड आउन लागेको छ । पछिल्लो दिनमा चर्चित चीनियाँ ब्राण्ड ओप्पोले (Oppo) नेपाली बजारमा कदम राख्न लागेको हो ।

चीनियाँ र भारतीय बजारमा चर्चित स्मार्टफोन तथा सेल्फी फोनको रुपमा परिचित ओप्पोले नेपालमा आउने तिब्र तयारी गरेको छ । कम्पनीले आगामी साता आफ्नो ब्राण्ड नेपाली बजारमा घोषणा गर्नेछ । कम्पनीले संभवत यहि सेप्टेम्बर १२ तारिखमा एक कार्यक्रमका बिच ओप्पो ब्राण्डको सार्वजनिक घोषणा गर्ने स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो, ओप्पो सार्वजनिक गर्न तिब्र काम भईरहेको छ । आगामी साता हुन्छ ।

ओप्पो ब्राण्ड ओप्पो इलेक्ट्रोनिक्स कर्पको स्मार्टफोन ब्राण्ड हो । यो स्मार्टफोन कम्पनी चीनको ग्वांगजोंगमा अवस्थित रहेको छ । यो कम्पनीले स्मार्टफोनका अलावा एमपीथ्री प्लेयर्स,पोर्टेवल मिडिया प्लेयर, एलसिडी टिभी तथा डिभिडी, ब्लू रे प्लेयरहरु पनि उत्पादन गर्दछ । यो कम्पनी सन् २००४ मा स्थापना भएको हो । कम्पनीले एन्ड्रोयडमा आधारित स्मार्टफोनहरु उत्पादन गर्दछ ।

नेपालमा ओप्पोका स्मार्टफोनहरु टेक्नोसेल (TechoCell) कम्पनीले बिक्री बितरण गर्नेछ भने ओप्पोले नेपालमा नै आफ्नो अफिस स्थापना गरिसकेको छ । टेक्नोसेल कम्पनीले त्रिवेणी ग्रुप अन्तर्गतको कम्पनी रहेको बताईएको छ, तर यसको बारेमा बिस्तृत जानकारी अझै थाहा हुन सकेन् । ओप्पोले नेपालमा नै कार्यालय खोलेर यसको ब्राण्डिंग, मार्केटिंग आफैंले हेर्नेछ भने बिक्री बितरणको जिम्मा टेक्नोसेलले लिएको छ ।oppo-brand_nepal

ओप्पोको चिनियाँ कम्पनीले हाल तिब्रगतिमा आफ्ना मोबाइल प्रमोटरहरुलाई कम्पनी र यसको ब्राण्डको बारेमा जानकारी दिईरहेको छ । कम्पनीले टंगालको एउटा ब्यांक्वेटमा करिब २०० जना प्रमोटरहरुलाई तालिम दिएको हो । कम्पनी स्रोतले भन्यो, “हामी काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर तथा भक्तपुरका लागि मात्र २०० प्रमोटर राख्नेछौं ।”

कम्पनीले पहिलो चरणमा काठमाडौं उपत्यकामा आफ्ना उत्पादनहरु बिक्री गर्ने लक्ष्य राखेको छ भने दोस्रो चरणमा मात्र उपत्यका बाहिर ध्यान केन्द्रित गर्ने छ । कम्पनीले हाल बजारमा रहेका केहि नाम चलेका चीनियाँ स्मार्टफोन ब्राण्डहरुको बजार हिस्सा लिने महत्वाकांक्षि योजना राखेको छ ।

कम्पनीले पहिलो चरणमा भारतीय बजारमा लोकप्रिय भएका स्मार्टफोनहरु नेपाली बजारमा ल्याउने बताईएको छ । कम्पनीका डिभाइसहरु हालसम्म नेपाल आईसकेका छैनन् । संभवत शुक्रबार वा आइतवारसम्म हवाईजहाजमार्फत स्मार्टफोनहरु नेपाल ल्याईने कम्पनीले स्रोतले जानकारी दियो ।

ओप्पोको बारेमा आगामी दिनमा थप नयाँ विषय आएमा हामी जानकारी दिने नै छौं ।

प्रकाशित: २४ भाद्र २०७३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार