
काठमाडौं ।
भक्तपुर सल्लाघारीको यातायात व्यवस्था सेवा कार्यालयमा सवारी दर्ता प्रमाणपत्र (ब्लु बुक) नवीकरण गर्न बिचौलिया आवश्यक नपरेपछि सेवाग्राही निकै खुसी छन् ।
काभ्रेपलाञ्चोक पनौतीका श्रीकृष्ण थापाले पहिलो पटक सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्न कसैको सहयोग लिनु नपरेको बताउँदै भने, “बिचौलियाले भनेको जति रकम दिएर काम लगाउँदा पनि एकै दिनमा नवीकरण हुँदैनथ्यो, अब त एक घण्टामै नवीकरण हुने रहेछ।” उनले जनतासँग प्रत्यक्ष सरोकार रहने निकाय सबैमा यस्तो व्यवस्था हुँदा निकै सहज हुने बताए ।
मोटरसाइकलको कर तिर्न कार्यालयमा पुगेका सिन्धुपाल्चोकका लालध्वज तामाङ पनि छिटै काम सकिएको देखेर अचम्म परे। “बिहान १० बजे कुपन पाएको थिएँ । एक घण्टा नबित्दै काम सकियो”, उनले भने, “सुरुमा आउनेले सुरुमै सेवा पाउने रहेछन् । अब समयमै घर फर्कन पाउने भए । ”
भक्तपुरकै सेवाग्राही असीम मानन्धरले पहिला मोटरसाइकलको राजस्व तिर्दा एक हजार रुपियाँ बिचौलियाले लिइदिएको स्मरण गर्दै अहिलेको टोकन प्रणालीले ठूलो राहत मिलेको बताए। यातायात व्यवस्था सेवा कार्यालय प्रमुख विमल भट्टराईले बिचौलियामुक्त कार्यालय बनाई टोकन प्रणाली लागू गरिएको बताए।
“टोकन प्रणालीबाट सेवाग्राहीले बिचौलिया खोजिरहनुपर्ने बाध्यता अन्त्य गरेको छ”, उनले भने, “सुरुमा स्विच थिचेर पाउने टोकनबाट सेवा सुरु गरेका थियौँ । बिहानै बिचौलिया आएर टोकन लिन्थे। त्यसलाई बेच्ने गरेको थाहा पाएपछि कागजकै प्रिन्ट गरेर टोकन दिन थालेका छौँ।”
उनले कार्यालयले दिने टोकन सेवाग्राहीको ब्लु बुकमै टाँस हुने र सम्बन्धित फाँटमै राखिने भएसँगै चलखेल कम भएको तथा बिचौलिया तितरबितर भएको दाबी गरे। कार्यालयबाट दैनिक आठ सयदेखि एक हजार दुई सय जनाले सेवा लिने गरेका छन् । टोकन लिएको ४० मिनेटदेखि डेढ घण्टासम्ममा सेवा उपलब्ध गराइन्छ।
सो कार्यालयले बागमती प्रदेशअन्तर्गतका सवारी साधनको कर तिर्ने, रुट परमिट नवीकरण गर्ने तथा चारपाङ्ग्रे सवारीसाधनको वायु प्रदूषण जाँच गर्ने कार्य गर्दै आएको छ। कार्यालयले गत साउनदेखि पुस मसान्तसम्म एक अर्ब छ करोड २० लाख रुपियाँ राजस्व सङ्कलन गरिसकेको छ। गोरखापत्र
प्रकाशित: २७ माघ २०७८, बिहीबार