
काठमाडौं ।
नेपालमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार र रकम पछिल्लो तीन महिनामा थोरै थोरै सङ्ख्या र परिमाणमा उकालो लाग्दै गएको छ।
हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पुष महिनासम्मको चालु स्थूल आर्थिक प्रतिवेदनमा मंसिर मसान्तदेखि पुष मसान्तसम्मको एक महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्या २ हजार ६८ बढेको देखिएको छ।
मंसिरभरी इन्टरनेट बैंकिङमार्फत् भएको जम्मा कारोबार २ लाख ५३ हजार२४५ रहेको थियो।
यो सङ्ख्या गत कार्तिक मसान्तसम्म २ लाख ५० हजार १७७ रहेको थियो भने असोज मसान्तसम्ममा ३ लाख ११ हजार ५८० रहेको थियो।
यसरी हेर्दा असोज मसान्तबाट कार्तिक मसान्तसम्म आउँदा उल्लेख्य घटेको इन्टरनेट बैंकिङको कारोबार सङ्ख्या मंसिर तथा पुष मसान्तसम्म आउँदा थोरै थोरै भए पनि बढ्दै गएको देखिन्छ।
कारोबार संख्या बढेसँगै रकम पनि बढ्नु स्वाभाविकै हो।
अघिल्लो महिना मंसिर मसान्तसम्म १२ अर्ब ७३ करोड ५० लाख रुपैयाँको कारोबार भएकामा एक महिनाको अवधिमा केही रकम बढेर १३ अर्ब ४९ करोड ६० लाख रुपैयाँमा पुगेको छ।
यस हिसाबले इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्यामा मंसिर मसान्तदेखि पुस मसान्तसम्मको एक महिनाको अवधिमा ७६ करोड १० लाख रुपैयाँले वृद्धि भएको तथ्याङ्कले देखाएको छ।
कार्तिक मसान्तसम्म यो रकम ११ अर्ब ८३ करोड २० लाख तथा असोज मसान्तसम्म १३ अर्ब ३४ करोड ४० लाख रुपैयाँ रहेको थियो।
प्रकाशित: २७ माघ २०७८, बिहीबार