
काठमाडौं ।
ई–पासपोर्ट सजिलै बनाइदिन्छु भनेर रकम ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी उप–महानगरपालिका–५ घर भएका ३५ वर्षीय मनोज सापकोटा छन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभागमा पासपोर्ट बनाउन आएका सर्लाही ईश्वरपुरका सोमबहादुर स्याङतानलाई उनले ‘सहज रुपमा पासपोर्ट बनाइदिउँला’ भनेर १२ हजार रुपैयाँ लिएर भागेका थिए। ठगेर भागेको सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो।
सापकोटाले माघ १८ मा ई–पासपोर्ट बनाउने ठाउँमा स्याङतानलाई भेटेर पैसा लिएको बताईएको छ।
उनी उपर ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रकाशित: २१ माघ २०७८, शुक्रबार