
काठमाडौं ।
पछिल्लो समय विद्युतीय माध्यमबाट गरिने कारोबार बढिरहेको बेलामा नेपाल राष्ट्र बैंकले सो सम्बन्धि सचेत गराउन शुरु गरेको छ। केन्द्रिय बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमको बारेमा जानकारी दिएको हो ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले विभिन्न ७ बुँदामा विद्युतीय कारोबार गर्दा ध्यान दिनुपर्ने र सचेत हुनुपर्ने विषयहरु उल्लेख गरेर सार्वजनिक सूचना जारी गरेको छ।
जसअनुसार सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ्ग अथवा मोबाइल बैंकिङ्गको यूजर नेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचनाहरु लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्नेलगयतका कार्यहरुबाट बच्न विशेष ध्यान दिनुपर्ने बताएको छ।
त्यसैगरी अपरिचित व्यक्तिहरुलाई कुनैपनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड तथा ओटिमी वा अन्य कुनैपनि संवेदनशिल जानकारी नदिन समेत सुझाब दिएको छ ।
सामाजिक सञ्जाल वा कुनैपनि विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा त्यस्तो रकम पठाउनुअघि अन्य माध्यमबाट यकिन गर्न समेत अनुरोध गरेको छ ।
अनावश्यक तथा अनधिकृत एमप आफ्नो मोबाइल फोनमा डाउनलोड नगर्न र यसरी एपमार्फत डाटा चोरीने विषयमा सचेत हुन समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।
कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यूआरकोड पठाएको अथवा एपको पासवर्ड मागेको छ भने त्यसलाई शंकास्पदरुपमा लिन भन्दै रकम भुक्तानी गर्न वा पैसा लिन कुनैपनि बारकोड, क्यूआरकोड वा पासवर्ड पठाउनु नपर्ने उल्लेख छ।
सचेतना सूचनामा कुनैपनि वेबसाइटमार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारीक वेबसाइट भए नभएको यकीन गर्न र वेबसाइटको ठेगानामा एचटीटीपीएस भए नभएको हेर्न समेत सुझाएको छ ।
यति गर्दा पनि विद्युतीय कारोबार गर्दा आफू ठगिएको शंका लागेमा अवथा कुनै गुनासो रहेमा कारोबार गरेको बैंक वा केन्द्रिय बैंकको गुनासो पोर्टलमा उजुरी गर्न भनिएको छ।

प्रकाशित: २१ माघ २०७८, शुक्रबार