
काठमाडौं ।
मोबाइल सेट एउटा सानो यन्त्र हो तर अहिले यो आम मानिसको सञ्चारको माध्यम बनेको छ। अहिले सामान्य काम गरेर जीविका गर्नेदेखि सम्पन्न सबैको हातहातमा मोबाइल फोनको सेट हुन्छ । मोबाइल हराएमा भेटिने क्रम एकदमै न्यून छ ।
मोबाइल हराएमा भेटिने सम्भावना भने एकदमै न्यून रहने गरेको प्रहरी परिसर टेकुका प्रमुख सुदीप गिरीले बताए ।
उनका अनुसार मोबाइल एउटा माध्यम बन्न सफल भएको छ । तर मोबाइल चोरी गर्ने गिरोहको हातमा हराएको वा चोरिएको मोबाइल परेमा भेटिने चान्स एकदम न्यून हुन्छ।
‘हराएको मोबाइल नेपालमै छ भने कुनै न कुनै दिन त्यसमा सिम हालिन्छ र त्यो ट्रयाक गरेर फेला पार्न सकिन्छ, तर धेरैजसो मोबाइल, गिरोहले भारततिर पठाउने हुन्छ, सीमा कटेपछि फेला पर्ने सम्भावना कम हुन्छ,’ उनले भने।
विभिन्न मितिमा चोरी भएका तथा हराएका मोबाइल सेटहरु महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं तथा मातहतका प्रहरी वृत्त–प्रभागहरुबाट खोजतलासका लागि उजुरी दिने गरेका छन् । उजुरी दिएका मध्ये फेला परेको मोबाइल सेटहरु सम्बन्धित धनीलाई प्रहरीले जिम्मा लगाउँदै आएको छ ।
सम्बन्धित मोबाइल धनीहरुले आ–आफ्नो मोबाइलको कागजपत्र इन्टरनेशनल मोवाय इक्युपमेन्ट आइडन्टिटी (आइएमईआइ) नम्बर साथमा लिई महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंमा सम्पर्क गर्ने गरेका छन् । तीमध्ये वर्षको १० देखि १३ प्रतिशतसम्म वर्षमा मोबाइल फोन फेला पर्ने गरेको परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताए।
उनका अनुसार मोबाइल चोरी गर्ने गिरोह नै सक्रिय रहने कारणले हराएको मोबाइल फेला पर्ने सम्भावना कम हुन्छ। मोबाइलको मद्दतले टाढा होस् वा नजिक, देशमा होस् वा विदेशमा एकै क्षणमा कसैसँग पनि कुरा गर्न सकिन्छ । यसको सहायताले हामी कुरा मात्र होइन अरु कतिपय काम पनि गर्न सकिने हुन्छ । ‘अहिले महँगा–महँगा मोबाइलहरु भित्रिएकाले मोबाइल चोरी हुन्छ, जुन मोबाइलले सजिलै धेरै काम गर्न सकिने हुन्छ,’ प्रवक्ता मैनालीले भने।
मोबाइलको सहायताले सन्देशहरु आदानप्रदान गर्न सकिन्छ। मोबाइल फोन रेडियो तरङ्ग प्रयोग गरेर बिटिएससँग (नजिक रहेको टावर) सम्पर्क गर्ने गर्छ। यसका लागि मोबाइल फोन–मोबाइल टर्मिनलले दुई फ्रिक्वेन्सी प्रयोग गर्ने गर्दछ । त्यस कारण मोबाइल जहाँ रहे पनि नेपाल टेलिकमको सहायताले नेपालमा रहेको मोबाइल प्रहरीले फेला पार्न सक्ने उनको भनाइ छ।
तीन आर्थिक वर्षमा कति हराए.
आर्थिक वर्ष २०७५/७६ मा १६ हजार १९ वटा निवेदन दर्ता भएको छ । जसमा दुई हजार १९९ वटा मोबाइल फेला परेको छ भने १३ हजार खोजतलासको क्रममा छ । यो हराएका मोबाइलमध्ये १३.७३ प्रतिशत भेटिएको हो ।
आर्थिक वर्ष २०७६/७७ मा १२ हजार ५६७ वटा निवेदन दर्ता भएकोमा एक हजार ३८० वटा मोबाइल फेला परेको छ भने ११ हजार १८७ खोजतलासको क्रममा छ । यो हराएका मोबाइल मध्ये १०.९८ प्रतिशत भेटिएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा नौ हजार ४६४ वटा निवेदन दर्ता भएकोमा एक हजार १२१ वटा मोबाइल फेला परेको छ भने आठ हजार ७६८ खोजतलासको क्रममा छ । यो हराएका मोबाइलमध्ये १०.९४ प्रतिशत भेटिएको हो ।
आर्थिक वर्ष २०७८/७९ को हालसम्म आठ हजार ८१२ वटा निवेदन परेको छ । जसमा तीन सय १९ वटा मोबाइल फेला परेको छ । आठ हजार ४९४ वटा खोजतलासको क्रममा रहेको प्रहरी परिसर टेकु, काठमाडौंको तथ्याङ्क छ ।
यो अवधिमा ४६ हजार ८६२ वटा मोबाइल हराएको निवेदन परेको छ । जसमा पाँच हजार १९ वटा मोबाइल फेला परेको छ । ४२ हजार २६९ वटा मोबाइलको खोजीमा प्रहरी छ ।
यसरी विभिन्न समयमा भाडाकारमा छुटेको मोबाइल फोन ट्राफिक प्रहरीको सक्रियातामा फेला पारी हस्तान्तरण गरेको छ । सम्बन्धित मोबाइल धनीको निवेदनको आधारमा महानगरीय प्रहरी कार्यलय रानीपोखरीको शाखामा रहेको सिसिटिभी फुटेजको सहायताले खोजतलास गर्दा पनि मोबाइल फोन फेला पर्ने गरेको प्रहरीले जनाएको छ । गोरखापत्रअनलाइन
प्रकाशित: २० माघ २०७८, बिहीबार