
काठमाडौं ।
सन् २०२२ को क्वीन एलिजाबेथ प्राइज फर इन्जिनियरीङ जापानी वैज्ञानिक डा. मासातो सागावालाई प्रदान गरिने भएको छ।
सागावाले नियोडाइमियम आइरन बोरोन (एनडी-एफई-बी) नामक चुम्बक पत्ता लगाएका थिए जुन हालसम्मकै सबैभन्दा शक्तिशाली र स्थायी तथा हिजोआज कारदेखि कम्प्युटरसम्ममा व्यापक प्रयोगमा आउने चुम्बक भएको बीबीसीले उल्लेख गरेको छ।
एनडी-एफई-बी यस्ता अपरिहार्य पदार्थमध्ये पर्दछन् जुन बिना हाम्रो दैनिक जनजीवन यति सहज हुन सक्दैनथ्यो।
हरित क्रान्ति व्यापकरुपमा अगाडि बढिरहँदा यो चुम्बकको अपरिहार्यता अझै बढिरहेको बीबीसीले जनाएको छ।
उक्त चुम्बक हावाबाट चल्ने टर्बाइनलगायत थुप्रै नवीकरणीय उर्जासम्बन्धी उपकरण प्रणालीको प्रमुख घटकका रुपमा रहने भएकोले पनि यसको महत्व दिन प्रतिदिन बढ्दै गइरहेको बुझिएको छ।
उक्त चुम्बकको बजार यो दशकको बीचसम्ममा २० अर्ब डलर पुग्ने आकलन गरिएको छ।

यो पुरस्कार पहिले २ वर्षमा दिइने भए पनि केही समययता वार्षिक रुपमा प्रदान गरिँदै आएको छ भने यसको राशी ५ लाख पाउण्ड रहेको छ।
इन्जिनीयरिङ क्षेत्रको नोबेल पुरस्कारका रुपमा चिनिने यो पुरस्कारमा नगदसहित ट्रफी पनि रहने र विजेतालाई उक्त पुरस्कार महारानि वा उनका प्रतिनिधिले प्रदान गर्ने गरिन्छ।
यसअघि आफ्ना इनोभेसनका लागि थुप्रै पुरस्कार पाइसकेका डा सागावाले यो पुरस्कार यसअघिका सबै पुरस्कारहरुको तुलनामा अब्बल भएको बताए।
‘यो मैले हालसम्म पाएका पुरस्कारहरुमध्ये सबैभन्दा ठूलो हो’, डा. सागावाले बीबीसीन्यूजलाई बताए।
उनले आफूले यसअघि सर्वाधिक ठूलो जापान प्राइज पनि जितिसकेको बताउँदै हालको क्यूईप्राइजको प्रभाव भने विश्वभर नै रहेकाले निकै महत्वपूर्ण भएको पनि थपे।
प्रकाशित: १९ माघ २०७८, बुधबार