ललितपुर महानगरपालिकामा सीसीटीभी प्रणाली जडान गर्न प्रहरी परिसरलाई २ करोड रुपैयाँ सहयोग

  • Technology Khabar | १७ माघ २०७८, सोमबार
ललितपुर महानगरपालिकामा सीसीटीभी प्रणाली जडान गर्न प्रहरी परिसरलाई २ करोड रुपैयाँ सहयोग

काठमाडौं ।

ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच सहरी व्यवस्थापनको लागि सीसीटीभी प्रणाली जडान तथा संचालनका लागि सम्झौता भएको छ।

सोमबार ललितपुरमा महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकामा ट्राफिक व्यबस्थापन, अपराधिक घटनाहरुको नियन्त्रण तथा न्यूनिकरण गर्न, फूटपाथको व्यबस्थापन गर्नको लागि ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर ललितपुर बिच शहरी सुव्यबस्थापनका लागी सीसीटीभी प्रणाली जडान तथा संचालन गर्ने सम्झौता भएको हो।

सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मेयर महर्जनले महानगरपालिकाले गत वर्षदेखि ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने उद्देश्यले स्मार्ट लाइट तथा सीसीटीभी जडान गर्ने नीति लिएको बताए। उनले ललितपुर महानगरले महानगरभित्र महानगर तथा वडास्तरमा समेत सीसीटीभी जडान र व्यवस्थापन गर्दै आएको बताए।

मेयर महर्जनले सीसीटीभी जडानलगायत अन्य सुरक्षाको विषयमा महानगर प्रहरी परिसरसँग नजिक बसेर सहयोग गर्दै आएको बताए। उनले महानगरले जडान गरेको सीसीटीभी नेपाल प्रहरीको केन्द्रिय सीसीटीभी प्रणालीमा जडान गर्नु पर्ने बताए। यस्तो गर्दा जडान भएका सीसीटीभी निर्वाधरुपमा सञ्चालन हुन सक्ने मेयर महर्जनको भनाइ छ।

सीसीटीभी जडानको लागि महानगरपालिकाले दुई करोड रुपैयाँ बजेट व्यवस्थापन गरेको प्रहरी परिसर जावलाखेलले जानकारी दिएको छ।

त्यस्तै महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी वरिष्ठ उपरिक्षक यज्ञ विनोद पोखरेलले सीसीटीभी जडान कार्यले ललितपुर महानगरपालिकाको सुरक्षाको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए।

प्रकाशित: १७ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...