
काठमाडौं ।
हल्ट प्राइज एट आईओईले आफ्नो चौथो कार्यशाला उद्यमशीलता टक सिरिज द सटल आर्ट अफ पिचिङ बज्र टेक्नोलोजीसँग सम्पन्न गरेको छ।
करिब १३० जना प्रत्यक्ष सहभागी र फेसबुक लाइभमार्फत ३ सयभन्दा बढी दर्शकमाझ जोडिएको उक्त अन्तरक्रिया कार्यक्रममा आफ्ना व्यापारिक विचार र आइडियाहरुलाई लगानीकर्ता समक्ष कसरी प्रस्तुत गर्ने भन्ने विषयमा विशेष छलफल भएको थियो।
सेसनको शुरुवातमा कार्यक्रमका किनोट स्पिकर अभिनव सेवा कम्पनी, बज्र टेक्नोलोजीका प्रमुख रणनीति प्रबन्धक श्रेयान पौडेलले डिजाइन थिङ्किङ, एम्पथी एनालिसिस र व्यापारिक रणनीतिबारे प्रकाश पारे।
यस्तै टेडएक्स स्पिकर तथा अन्तरराष्ट्रिय कम्युनिकेसन कोच मानसी अगरवालले लगनीकर्ताको माइण्डसेट बारे अध्ययन गरी आफ्नो आइडियालाई पुरापुर विश्वास साथ लगानीकर्ताहरु माझ राख्न सुझाव दिइन्।उनले आफ्नो प्रस्तावको शुरुवात र समापनलाई पनि आकर्षक बनाउन सल्लाह पनि दिइन्।
अर्का वक्ता डाइरेक्ट पे र पोडमियोका सीईओ तथा फोर्ब्स म्यागाजिनमा फिचर भएका उद्यमी सत्तिस गैरेले आईडा (एआईडीए) फ्रेमवर्कका बारेमा टिप्पणी राखे।
यसबाहेक उनले लगानीकर्ताहरुबाट कसरी प्रतिक्रिया पाउन सकिन्छ भन्ने विषयमा केही टिप्स र सुझाव दिए।
कार्यक्रमको अन्त्यमा पूर्व बैंकर तथा पुरस्कार विजेता हास्य कलाकार स्टेपन डायरले हास्यलाई पनि आफ्ना प्रस्तुतिहरुमा प्रयोग गर्न सकिन्छ भन्ने जानकारी दिए।
दुई घण्टाभन्दा बढी समय चलेको यो कार्यशालामा ४५ मिनेट मन्तव्यका लागि तथा १० मिनेट अन्तरक्रिया र प्रश्नोत्तरका लागि छुटयाइएको थियो।
हल्ट प्राइज एट आईओईले रेजिष्टर्ड टिमहरुलाई फेब्रुअरी १ भित्र आफ्नो प्रस्ताव पेश गर्न समय तोकेको छ। यो प्रतियोगिताको सेमि फाइनल आगामी फेब्रुअरी ५ का लागि तय गरिएको छ।
हल्ट प्राइजले वार्षिक रुपमा विश्वविद्यालय स्तरका विद्यार्थीहरुमध्येबाट सिर्जना भएका उत्कृष्ट ठोष व्यापार विचारलाई १० लाख डलरको अनुदान उपलब्ध गराउँदै आएको छ।
प्रकाशित: १६ माघ २०७८, आईतवार