सार्वजनिक खरिदको नयाँ ई–जीपी प्रणाली सञ्चालनमा, बोलपत्रदेखि मूल्याङ्कनसम्म अनलाइनबाटै

  • Technology Khabar | १८ कार्तिक २०८३, बुधबार
सार्वजनिक खरिदको नयाँ ई–जीपी प्रणाली सञ्चालनमा, बोलपत्रदेखि मूल्याङ्कनसम्म अनलाइनबाटै

काठमाडौं ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले नयाँ विद्युतीय खरिद प्रणाली (ई–जीपी) सञ्चालनमा ल्याएको छ। पुरानो प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएपछि रोकिएको सार्वजनिक खरिदसम्बन्धी सूचना प्रकाशन तथा बोलपत्र प्रक्रियालाई नयाँ प्रणालीमार्फत अघि बढाउन कार्यालयले सार्वजनिक निकाय, बोलपत्रदाता र आपूर्तिकर्तालाई आग्रह गरेको छ।

कार्यालयले कात्तिक मंगलबार जारी गरेको सूचनाअनुसार नयाँ प्रणाली सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रमार्फत तयार गरिएको हो। पुरानो ई–जीपी प्रणालीमा सुरक्षा जोखिम देखिएपछि २०८३ भदौ ११ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको थियो।

नयाँ प्रणाली सञ्चालनमा आएसँगै पहिलो चरणमा सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताले प्रणालीमा तोकिएबमोजिमका काम गर्नुपर्ने कार्यालयले जनाएको छ।

सूचनाअनुसार नयाँ प्रणालीमा सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताले मात्र दर्ता गर्नुपर्नेछ। कात्तिक १७ गतेदेखि सबै सार्वजनिक निकायले निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका बोलपत्रसम्बन्धी सूचना यही प्रणालीमार्फत मात्र प्रकाशन गर्नुपर्नेछ।

त्यस्तै, निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रिय बोलपत्रमा प्रस्ताव पेस गर्ने बोलपत्रदाता तथा आपूर्तिकर्ताले तोकिएको समयभित्र अनलाइन वा कार्यालयमै हार्डकपीमार्फत प्रस्ताव पेस गर्न सक्ने व्यवस्था गरिएको छ।

बोलपत्र खोल्ने (ओपनिङ) तथा मूल्याङ्कनको काम भने विद्युतीय खरिद प्रणालीमार्फत नै गर्नुपर्नेछ। हार्डकपीमार्फत पेस भएका बोलपत्र प्रस्तावको अभिलेख मुचुल्का र मूल्याङ्कन प्रतिवेदनमा समेत उल्लेख गर्न कार्यालयले निर्देशन दिएको छ।

यस व्यवस्थाले बोलपत्रसम्बन्धी सूचना प्रकाशन, प्रस्ताव पेस गर्ने तथा मूल्याङ्कन प्रक्रियालाई एउटै विद्युतीय प्रणालीमा समेट्नेछ। यद्यपि, प्रस्ताव पेस गर्ने क्रममा अनलाइनसँगै हार्डकपीको विकल्प पनि खुला राखिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले नयाँ प्रणालीको प्रयोगसम्बन्धी व्यवस्थालाई कार्यान्वयनमा ल्याउन सबै सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्तालाई अनुरोध गरेको छ।

प्रकाशित: १८ कार्तिक २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार