
काठमाडौं ।
लिनक्स फाउन्डेशनले ओपन सोर्स सफ्टवेयर डेभलपमेन्ट लिनक्स र गिट सर्टिफिकेशन सार्वजनिक गरेको छ।
लिनक्स फाउन्डेशनले हालै एडएक्स प्लेटफर्ममा तीन ओटा नयाँ ट्रेनिङ कोर्स सार्वजनिक गरेको हो।
ओपन सोर्स सफ्टवेयर डेभलपमेन्ट ट्रेनिङ कोर्सहरुमा लिनक्स फर डेभलपर्स, लिनक्स टूल्स फर सफ्टवेयर डेभलपमेन्ट तथा गिट फर डिस्ट्रिब्युटेड सफ्टवेयर डेभलपमेन्ट रहेका छन्।
यी तीन ओटा कोर्सहरु एक एक ओटा वा एकैपटक सबै लिन सकिने र कोर्स पूरा भएपछि ओपन सोर्स सफ्टवेयर डेभलपमेन्ट, लिनक्स र गिटमा प्रोफेसनल सर्टिफिकेट पाइने जेडडीनेटले उल्लेख गरेको छ।
ओपन सोर्स सफ्टवेयर डेभलपमेन्ट: लिनक्स फर डेभलपर्स ओपन-सोर्स सफ्टवेयर डेभलप गर्ने अवधारणा तथा लिनक्समा उत्पादक हिसाबले कसरी काम गर्ने भन्नेमा केन्द्रित छ।
यो तालिम लिनका लागि लिनक्स जानेको हुनु नपर्ने र यो डेभलपरहरुका लागि डिजाइन गरिएको लिनक्सको परिचयात्मक कोर्स रहेको बुझिएको छ।
दोस्रो कोर्स लिनक्स टूल्स फर सफ्टवेयर डेभलपमेन्टले भने लिनक्स डेभलपमेन्ट इन्भाइरोन्मेन्ट र त्यसबाहेकका प्रोग्रामिङका लागि दैनिक रुपमा आवश्यक पर्ने टूलहरुको समीक्षा गर्दछ। यो कोर्स कुनै पनि अपरेटिङ सिस्टममा काम गरिरहेका अनुभवी डेभलपरहरुका लागि डिजाइन गरिएको हो जो ओपन सोर्स डेभलपमेन्टको आधारभूत ज्ञान लिन चाहन्छन्।
यस्तै तेस्रो कोर्स गिट फर डिस्ट्रिब्युटेड सफ्टवेयर डेभलपमेन्टले गिटका बारेमा गहन जानकारी दिन्छ।
गिट लिनक्स ट्रोभाल्ड्सको अर्को ठूलो सफलता जुन सोर्स कन्ट्रोल सिस्टमलाई सबैभन्दा पहिले लिनक्स केर्नल कम्युनिटीले विश्वभरका डेभलपरहरुले प्रभावकारी रुपमा प्रयोग गर्न सहज होस् भन्ने उद्देश्यले उपयोगमा ल्याएको थियो।
गिटसँगै सम्बन्धित गिटहब तथा गिटल्याबजस्ता प्रोग्रामहरु विश्वभरका सफ्टवेयर डेभलपरहरुको रोजाईमा पर्न सफल हुँदै आएका छन्।
प्रकाशित: १२ माघ २०७८, बुधबार