क्रिप्टोकरेन्सी कारोबार गरेर सैंतिस करोड रुपैयाँ अवैध कमाएको आरोपमा राजस्वद्वारा मुद्दा
काठमाडौं ।
क्रिप्टोकरेन्सी कारोबारमार्फत अवैध रकम आर्जन गरेको भन्दै राजस्व अनुसन्धान विभागले चार जना विरुद्ध मुद्दा दायर गरेको छ।
विभागले अमेरिकी डलरको अवैध कारोबार गरेको अभियोगमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो। कैलाली लम्किचुवा स्थायी ठेगाना भइ हाल काठमाडौं कालोपुल बस्दै क्रिप्टोकरेन्सी कारोबार र डलरको अवैध कारोबार गरेको कसुरमा उनीहरुविरुद्ध मुद्धा दायर भएको हो।
विभागले क्रिप्टोकरेन्सी कारोबार भनेर नभने पनि उनीहरुले इ-स्क्रील तथा बाइनान्समार्फत कारोबार गरेको भेटिएको हो।
विभागले कैलालीका दिनेश खड्का, उनकी दिदी भगवती खड्का, बाबु नरबहादुर खड्का र उनकी साथी अनिता धितालविरुद्ध मुद्धा दायर गरेको हो।
उनीहरूले सामूहिकरुपमा मोबाइल एप्स इ स्क्रील तथा बाइनान्स प्रयोग गरेर क्रिप्टोकरेन्सी कारोबार तथा विदेशी विनिमय डलरको कसुर गरेको पाइएको विभागले जनाएको छ। उनीहरूले अनलाइनमार्फत डलरको अवैध कारोबार गरेका हुन्।
विभागकाअनुसार दिनेश खड्काले इ-स्क्रील तथा बाइनान्समार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरी ग्लोबल आईएमई बैंकसमेतबाट नौ करोड उनान्असी लाख अन्ठानब्वे हजार पाँचसय एकासी रुपैयाँ सतहत्तर पैसा, अनिता धितालको लक्ष्मी बैंक समेतबाट पाँच करोड सतहत्तर लाख छ हजार आठसय छब्बिस रुपैयाँ एकाउन्न पैसा, भगवती खड्काको एनआईसी एशिया बैंक समेतबाट बीस करोड बयालिस लाख चौरानब्बे हजार पाँच सय छब्बिस रुपैयाँ र नर बहादुर खड्काको ग्लोबल आइएमई बैंकबाट एक करोड चौसठ्ठी लाख एघार हजार एक सय छैसठ्ठी रुपैयाँ पैतिस पैसा गरी कुल सैंतिस करोड चौसठ्ठी लाख एघार हजार एक सय रुयैयाँको कारोबार गरेका थिए।
उनीहरुलाई सैंतिस करोड चौसठ्ठी लाख एघार हजार एक सय रुपैयाँ बराबरहुन आउने एकतीस लाख सत्ताईस हजार आठसय छयानब्बे अमेरिकी डलर कारोबार गरेको बताईएको छ।
उनीहरुलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा क्रिप्टोकरेन्सीको अवैध कारोबारसहितको मुद्दामा बिगो जफत गरी सजाय हुन तीन वर्षसम्मको कैद सजायको मागदावी लिइएको विभागले जनाएको छ।
स्मरणरहोस् नेपाल भित्र र बाहिर भएका नेपालीहरुले क्रिप्टोकरेन्सी कारोबार गर्नु गैरकानूनी भएको नेपाल राष्ट्र बैंकले यसअघि नै सूचना जारी गरेर भनिसकेको छ। त्यस्तै प्रहरीले समेत क्रिप्टोकरेन्सी कारोबार गर्नेहरुलाई पक्राउ गरिरहेको छ।