बसभित्रै घुम्ती सूचना केन्द्रको सुविधा

  • Technology Khabar | ११ माघ २०७८, मंगलवार
बसभित्रै घुम्ती सूचना केन्द्रको सुविधा

काठमाडौं ।

सूचना प्रविधिमा पहुँच नभएका समूह र व्यक्तिहरुलाई लक्षित गर्दै सूचना प्रविधिमैत्री बस तयार भएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले ‘घुम्ती सूचना पहुँच केन्द्र’ तयार गरेको हो। बसको भित्री स्वरुपलाई परिमार्जन गरेर बनाइएको केन्द्र काठमाडौं उपत्यका बाहिर सञ्चालन गर्ने तयारी गरिएको छ।

वातानुकुलित (एयर कन्डिसन्ड) बसभित्र स्टार होटलका मिटिङ र सेमिनार हलकै झल्को दिनेगरी वाईफाई, ल्यापटप, प्रोजेक्टर, स्क्रिन, इलेक्ट्रोनिक पोडियम, शौचालय लगायतका सुविधा राखिएको छ।

यसअघि नेपालमा ट्रक र अन्य सार्वजनिक यातायातलाई परिमार्जन गरेर घुम्ती शौचालय, बैंकिङ, हुलाक लगायतका सेवा अभ्यासमा छन्। हवाई जहाज र बस ट्रकलाई परिमार्जन गरेर रेष्टुरेन्ट पनि सञ्चालन भइरहेका छन्।

तर सूचना प्रविधि सिक्ने सिकाउने अभ्यास भने यो पहिलो हो। जेनेरेटरमार्फत घुम्ती केन्द्र सञ्चालन हुने बताउँदै नास्टका प्रवक्ता डा. सुरेश ढुंगेलले टेक्नोलोजीखबरसँग भने, ‘सम्भवत: यस्तो अभ्यास नेपालकै पहिलो र नौलो हो। कोभिडको तेस्रो लहर कमजोर भएलगत्तै मोबाइल सूचना केन्द्र सञ्चालन हुनेछ।’

बसको भित्री संरचना नेपालमै परिमार्जन गरी अत्याधुनिक सूचना प्रविधिमैत्री तालिम कक्ष बनाइएको उनले जानकारी दिए। घुम्ती केन्द्रमा १८ जनाले तालिम लिन सक्नेछन्।

प्रशिक्षार्थीभन्दा अगाडिको भेगमा प्रशिक्षक रहनेछन्। पोडियममार्फत् कक्षा कोठामाझैं प्रशिक्षकले प्रशिक्षार्थीलाई तालिम प्रदान गर्नेछन्। बसको सीट अगाडिको भेगमा बनेका टेबल लामो दूरीका हवाई जहाजका डाइनिङ टेबलझैं देखिन्छन्।

यस्तो टेबलमा राखिने ल्यापटप बस गुडेका बेला सहझै चलाउन मिल्छ। दक्षिण कोरियाको नेसनल इन्फरमेसन सोसाइटी एजेन्सी (एनआईए)को आर्थिक तथा प्राविधिक सहयोगमा नास्टले यस्तो सेवा सुरु गर्न लागेको हो।

एनआईए सो मुलुकको विज्ञान र प्रविधि मन्त्रालय अन्तर्गतको निकाय हो। एनआईएले ४० भन्दा बढी मुलुकमा विज्ञान प्रविधिसँग सम्बन्धित ६० भन्दा बढी सूचना प्रविधि केन्द्र तयार गरेको छ।

नेपाल भूगोल सुहाउँदो सूचना पहुँच केन्द्र बनाउन नास्टले गरेको प्रस्ताव अनुसार एनआईएले वातानुकुलित बसभित्र अत्याधुनिक केन्द्र बनाएर हस्तान्तरण गरेको प्रवक्ता ढुंगेलले बताए।

‘मेरो बुझाइमा एनआईएले यसअघि अन्य देशमा बनाएका केन्द्रमा बससहितको सुविधा छैन,’ उनले भने, ‘एनआईएको परियोजना अन्तर्गत यस्तो सुविधा पाउने नेपाल पहिलो देश हो।’

अपाङ्गता भएका व्यक्तिहरुले पनि घुम्ती केन्द्रमार्फत सेवा लिनसक्ने उनले प्रष्ट्याए। सूचना प्रविधिमैत्री केन्द्रका लागि नास्टले सन् २०१९मा एनआईएलाई प्रस्ताव गरेको थियो।

सोही प्रस्ताव अनुसार सो निकायले नास्टको नवनिर्मित प्रविधि भवनको पहिलो तलामा हालै स्थापित ‘सूचना पहुँच केन्द्र’का लागि साजसज्जासहित आवश्यक स्रोत साधन उपलब्ध गराएको हो।

कोभिडका कारण भवनभित्रको केन्द्र शुभारम्भ हुन नसकेको नास्टका अधिकारी बताउँछन्।

नास्टले नेपालको भौगोलिक विविधता अनुसार फरक भूगोललाई जोड्न मिल्नेगरी अतिरिक्त प्रस्ताव गरेपछि एनआईएले बसभित्र घुम्ती केन्द्रको सुविधा उपलब्ध गराएको हो।

घुम्ती केन्द्र सातवटै प्रदेशलाई लक्षित गर्दै सञ्चालन हुने बताइएको छ।

यातायात पहुँच भएका क्षेत्रबाट माग आएको खण्डमा प्रदेश मुकामबाहेकका भेगमा घुम्ती केन्द्रको सेवा पुग्ने प्रवक्ता ढुंगेलले बताए।

‘नास्टको आफ्नै खर्चमा सबै प्रदेशका मुख्य भेगमा यस्तो सेवा उपलब्ध गराउने तयारी भइरहेको छ, बढीभन्दा बढी ठाउँमा पुग्न अन्य निकायसँग सहकार्य गर्नुपर्ने हुन्छ’, उनले भने।

स्थानीय निकाय र निजी क्षेत्रसँगको सहकार्यमा यातायात पहुँच विस्तार भएका भेगमा घुम्ती केन्द्र पुर्याउन सकिने उनले बताए।

प्रकाशित: ११ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...