
काठमाडौं ।
कोरोना महामारी बढेसँगै नेपाल दूरसञ्चार प्राधिकरणले कर्मचारीहरुको लागि वर्क फ्रम होम लागू गरेको छ। प्राधिकरणले यसअघि नै जारी गरेको कार्यालय सञ्चाल मार्गदर्शनअनुसार अबदेखि अर्को सूचना नभएसम्मका लागि एक तिहाई कर्मचारीबाट कार्यालय व्यवस्थापन गर्ने भएको हो।
दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले आजैदेखि वर्क फ्रम होम लागू गरेर कर्मचारीहरुलाई घरबाटै काम गर्न भनेकोछ।
जिल्ला प्रशासन कार्यालयको सूचनालाई आधार मान्दै प्राधिकरणले कर्मचारीहरुका लागि निर्देशक भन्दा बाहेकका अन्य कर्मचारीहरुका लागि वर्कफ्रम होम लागू गरेको हो।
प्राधिकरणका कर्मचारीहरु (निर्देशक बाहेक) को हकमा महाशाखा प्रमुखले प्राधिकरणको काममा बाधा नपर्ने गरी आफू मातहतका कर्मचारीहरुको लागि माघ ९ गतेदेखि ७ दिनसम्मका लागि आलोपालो व्यवस्था मिलाउने सूचनामा भनिएको छ।
आलोपालोमा काम गर्ने कर्मचारीहरुले ई एटेन्डेन्सबाट हाजिर गर्ने र उनीहरु कार्यालय समयभरी अफिस अटोमेसन सिस्टमबाट काम गर्नुपर्नेछ।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले आजदेखि कर्मचारीहरुका लागि वर्क फ्रम होम लागू गरिएको जानकारी दिए।
“अब एक तिहाई कर्मचारीले मात्र काम गर्नेछन र त्यसको लागि महाशाखा प्रमुखले आलोपालो लगाउन सक्नेछन्,” उनले भने, “एक तिहाई भनेपनि कर्मचारीहरु सातामा ३ दिन आउन सक्नेछन् ।”
यदि कर्मचारीहरु कोरोना संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेमा ३ दिनपछि पिसिआर टेस्ट गरेर कार्यालय आउन सक्नेछन भने कोरोना पोजिटिभभएको खण्डमा ७ दिनपछि पिसिआर परीक्षण गरेर नेगेटिभ आएपछि कार्यालयमा काम गर्न आउन सक्नेछन्।
प्राधिकरणले कन्ट्याक्ट ट्रेसिङमा परेको अवस्थामा १ पटक तथा कोरोना लागेको अबस्थामा २ पटक परीक्षणका लागि शुल्क भुक्तानी गरिदिनेछ भने लामोसमय उपचार गर्नुपर्ने अवस्थामा प्राधिकरणले १ महिनाको बिदा दिनेछ।
सो अविधमा आलोपालो समयमा बस्ने कर्मचारीले कार्यालय समयमा कार्य नगर्ने, अनलाइन नबस्ने, कार्यालयको निर्देशन पालना नगरेमा कारबाहीका लागि अध्यक्ष समक्ष सिफारिस गर्नसकिने जनाएको छ।
प्रकाशित: ९ माघ २०७८, आईतवार