
काठमाडौं ।
अब इन्स्टाग्रामले जस्तै टिकटकले पनि सर्जकलाई भुक्तानी दिने व्यवस्था गर्ने भएको छ।
केही समयअघि मेटा प्लेटफर्म अन्तर्गतको इन्स्टाग्रामले आफ्ना सर्जकहरुलाई पेड सब्क्रिप्शन अर्थात पोस्ट गरिएका सामग्रीबापत् भुक्तानीको व्यवस्था गरेको थियो। हाल टिकटकले पनि इन्स्टाग्रामकै पदचाप पछ्याउन खोजेको बुझिएको छ।
द इन्फर्मेशनका अनुसार टिकटकले इन्फ्लुएन्सरहरुलाई एपमा शेयर गरिएका केही सामग्रीमा भुक्तानी गर्न सक्ने फिचर ल्याउन खोजिरहेको हो।
टिकटकको सब्स्क्रिप्शन सीमित मात्रामा हुने भएकाले तत्कालै आफ्ना मन परेका क्रियटरहरुले सब्स्क्रिप्शन पाइहाल्छन् भन्ने चाहिँ पक्का हुँदैन। यसले भविष्यमा कसरी काम गर्छ भन्ने कम्पनीले अहिले स्पष्ट पारेको छैन।
‘हामी सधैं हाम्रा कम्युनिटीसमक्ष कसरी अझ सुविधा दिन सकिन्छ र टिकटकलाई अझ मजबुत बनाउन सकिन्छ भन्ने सोचिरहेका हुन्छाैं’,टिकटकका प्रवक्ताले इन्ग्याजेटलाई बताए।
ट्विच ट्विटर तथा यूट्युबमा झैं टिकटकले पनि भ्यूअरहरुलाई क्रियटर नेक्स्ट प्रोग्राममा भएका इन्फ्लुयन्सरहरुसमक्ष टिप्स पठाउन सक्ने व्यवस्था गरेको छ। यूजरले क्रियटरलाई भर्चुअल गिफ्ट किनेर दिन सक्छन्।
सन् २०२० मा टिकटकले क्रियटरहरुलाई सपोर्ट गर्न २० करोड डलरसम्म खर्च गर्ने घोषणा गरेको थियो।
प्रकाशित: ८ माघ २०७८, शनिबार