पुनः श्रम स्वीकृतिको काम आजदेखि अनलाइनबाट मात्र हुने

  • Technology Khabar | २ माघ २०७८, आईतवार
पुनः श्रम स्वीकृतिको काम आजदेखि अनलाइनबाट मात्र हुने

काठमाडौं ।

अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने व्यवस्था शुरु भएको छ। गत वर्षदेखि भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा आज आइतबारदेखि अनलाइनबाट मात्र हुने वैदेशिक रोजगार कार्यालय काठमाडौँले जनाएको छ।

यसका लागि वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्ने सो कार्यालयले जनाएको छ। पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी गर्नुपर्ने हुन्छ।

वैदेशिक रोजगार कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ। संस्थागत श्रम स्वीकृतिका लागि सेवाग्राही कार्यालय आइरहनुपर्दैन, सम्बन्धित म्यानपावर व्यवसायी मात्र आउँछन् ।

पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्नेछ। यसका लागि सुरुमा विभागको वेबसाइट डब्लुडब्लुडब्लु डट डिओएफइ डट जीओभी डट एनपी (https://dofe.gov.np/) मा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ। अथवा सिधै ‘एफइआइएमएस डट डिओएफइ डट जीओभी डट एनपी(https://feims.dofe.gov.np/Common-Login.aspx)मा गएर पनि खोल्न सकिनेछ।

वैदेशिक रोजगार कार्यालयबाट चालू आर्थिक वर्षको पुससम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब एक लाख जना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजार जनाले सेवा लिएको कार्यालयले जनाएको छ।

प्रकाशित: २ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार