Technology Khabar २५ श्रावण २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, २५ साउन । सामसंगले आफ्नो बजेट स्मार्टफोन सिरिजको नयाँ स्मार्टफोन जेड टू (Tizen- powered Z2) यहि ११ अगस्टमा नेपालमा सार्वजनिक हुने भएको छ । भारतीय बजारमा औपचारिकरुपमा सार्वजनिक हुने यो स्मार्टफोन नेपालसहित केहि सार्क मुलुकमा पनि उपलब्ध हुन लागेको बताइएको छ।
कम्पनीले टाइजेन अपरेटिंग सिस्टममा आधारित भएर ल्याउन लागेको यो तेस्रो स्मार्टफोन हो । यसअघि सामसंगले जेड, जेड वान बजारमा ल्याईसकेको छ । कम्पनीले सस्तो स्मार्टफोन किन्ने उपभोक्ता भएका बजारलाई ध्यानमा राखेर टाइजेनमा आधारित स्मार्टफोन सिरिज ल्याएको हो ।
कम्पनीले टाइजेनमा आधारित नयाँ स्मार्टफोन सामसंग जेड टू नेपाललगायत भारत, बंगलादेश, श्रीलंकामा पनि सार्वजनिक गर्नेछ । भारतीय बजारमा यो स्मार्टफोन अगस्ट ११ तारिखमा ग्यालेक्सी नोट सेभेन (Galaxy Note 7) तथा ग्यालेक्सी ए नाइन प्रो (Galaxy A9 Pro) सँग एकैदिन सार्वजनिक गर्ने तयारी रहेको छ भने अन्य मुलुकमा यो स्मार्टफोन मात्र उपलब्ध हुनेछ ।
हालै जेड टू स्मार्टफोन दक्षिण अफ्रिकामा नोट सेभेनसँग पहिलो पटक सार्वजनिक गरिएको थियो । दक्षिण अफ्रिका, नाइजेरिया तथा इन्डोनेशियामा जेड सिरिज पहिलो पटक सार्वजनिक गरिएको हो ।
सामसंग जेड टू स्मार्टफोन इन्ट्रि लेभलको बजेट स्मार्टफोनको रुपमा कम्पनीले ल्याउने छ । भारतीय बजारमा यो स्मार्टफोन जियो फोरजी सँग टाइअप भएर आउने छ । यो स्मार्टफोनको मूल्य भारतीय बजारमा भारु ४,४९९ तोकिएको छ ।
सामसंग टाइजेन जेड टू का विशेषताहरु
सामसंग टाइजेन जेड टूमा ४.५ इन्चको डिस्प्ले राखिएको छ । क्वाड-कोर सिपीयू रहेको यसमा १ जीबीको र्याम छ भने २,००० एमएएचको ब्याट्री तथा टाइजेन ३.० अपरेटिंग सिस्टममा आधारित रहेको छ । ड्यूल सिम सपोर्ट गर्ने यो स्मार्टफोनमा फोरजी (4G) र भिओएलटिई (VoLTE) सपोर्ट गर्दछ ।
नेपाली बजारमा पनि सार्वजनिक हुन लागेको यो स्मार्टफोनको मूल्य कति हुन्छ अहिलेसम्म जानकारीमा छैन् । तर पनि टाइजेन जेड टूको मूल्य रु ८,००० देखि ९,००० को बिचमा हुने अनुमान गरिएको छ ।
प्रकाशित: २५ श्रावण २०७३, मंगलवार