
काठमाडौं ।
नेपालीहरुले नेपालमै बनाएको सानो आकारको ‘सानोस्याट-१’ आज बिहीबार राति अन्तरिक्षमा प्रक्षेपण गरिने भएको छ।
५x५x५ सेन्टिमिटरको यो स्याटेलाइट आफ्नो नामजस्तै सानो साइजको हुने र यसले लो अर्थ अर्बिटमा बसेर सूर्यबाट आउने गामा, बिटा लगायतका विकिरणहरुका बारेमा अध्ययन गर्ने परियोजनाको शुरुवातदेखि संलग्न इन्जिनीयर जितेन थापाले टेक्नोलोजीखबरलाई जानकारी दिए।
यसबाहेक यसले स्टोर एन्ड फर्वार्ड कन्सेप्टमा रहेर रिपिटरको काम पनि गर्ने बुझिएको छ।
यो स्याटेलाइट इलन मस्कको अन्तरिक्षसम्बन्धी प्रसिद्ध कम्पनी स्पेसएक्सको फाल्कन-९ रकेटमार्फत् नेपाली समय अनुसार बेलुका ९ बजेर १५ मिनेटमा प्रक्षेपण गरिने यसको निर्माता कम्पनी ओरियनस्पेसले जनाएको छ ।

यसैबीच स्पेसएक्सले पनि आफ्नो फाल्कन-९ रकेटले आज बोकेर लैजाँदै गरेका विभिन्न देशका विभिन्न कम्पनीका सानाठूला स्याटेलाइटहरुमध्ये नेपालको ओरियनस्पेसको सानोस्याट-१ पनि रहेको ट्विटरमार्फत पुष्टि गरेको छ।
ओरियनस्पेस अन्तरिक्षसम्बन्धी विभिन्न खोज तथा अन्वेषणका क्षेत्रमा काम गर्दै आएको नेपाली कम्पनी हो।
जम्म २५० ग्राम ताैल रहेको उक्त स्याटेलाइटको अवधारणा सन् २०१८ मै बनेको र विभिन्न परिस्थिति तथा आवश्यक रकम जुटाउने क्रममा प्रक्षेपणका लागि आजसम्म आइपुगेको बुझिएको छ।
थापाका अनुसार काठमाडाैं विश्वविद्यालय तथा ख्वप कलेजमा इन्जिनीयरिङ गरिरहेका करिब २५ जनाको सहभागितामा शुरु भएको यो परियोजनालाई अन्तिम रुप दिएर प्रक्षेपणसम्म ल्याइपुर्याउने क्रममा थापासहित ५ जना सदस्यहरु बाँकी रहेका छन्।
लागत लगभग १ करोड रुपैयाँ
सानोस्याट निर्माणदेखि प्रक्षेपणको चरणसम्म आइपुग्दा लगभग १ करोड रुपैयाँ लागत लागेको थापा बताउँछन्। उनका अनुसार यसको सम्पूर्ण खर्च ओरियनस्पेसका मुख्य कार्यकारी अधिकृतले ब्यहोरेका हुन्।
१ करोडमध्ये ४० लाख रुपैयाँ हाराहारी स्पेस एक्सलाई तिरिएको र बाँकी उपकरण तथा रिसर्च र डेभलपमेन्टमा खर्च भएको थापाको भनाइ छ।
सरकारले गरेन सहयोग
‘यो परियोजना शुरु भएदेखि नै नास्टसँग आर्थिक सहयोगका लागि आग्रह गरे पनि कुनै किसिमको सहयोग प्राप्त भएन’, थापाले भने।
उनले स्याटेलाइट प्रक्षेपणका लागि आवश्यक फ्रिक्वेन्सीको लाइसेन्सका लागि सरकारी तवरबाट जानुपर्ने भएकाले आवेदन दिएको र त्यसै प्रक्रियाका लागि १ वर्ष कुर्दा पनि लाइसेन्स नपाएको गुनासो गरे।
यो निजी क्षेत्रबाट गरिएको सानो प्रयास भएको र यो सफल भएको खण्डमा आगामी दिनमा अन्य संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोग जुटेमा यो अरु स्याटेलाइटहरु पनि पठाउन सकिने थापा बताउँछन्।
यहाँ हेर्नुस प्रत्यक्ष लन्चिङ्ग
स्पेसएक्सले सो लन्चिङ्गको बारेमा आफ्नो वेबसाइट तथा च्यानलबाट प्रत्यक्ष प्रशारण गर्ने छ। जसलाई नेपालबाटै सो समयमा सो रकेट प्रक्षेपण हेर्न सकिन्छ।
त्यसको लागि यहाँ क्लिक गरेर तपाईँले प्रत्यक्ष प्रशारण हेर्न सक्नुहुनेछ।
प्रकाशित: २९ पुष २०७८, बिहीबार