
काठमाडौं ।
सरकारले मंसिर मसान्तसम्ममा देशभर १,०२४ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर बिच्छ्याउन सफल भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको मंसिर मसान्तसम्मको प्रगति विवरणका अनुसार तीन प्याकेजमा सञ्चालित परियोजना अन्तर्गत १ हजार २४ किलोमिटरमा अप्टिकल फाइबर बिच्छ्याउने काम सम्पन्न भएको छ।
ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित मध्यपहाडी लोकिमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गर्ने कार्यलाई तीनवटा प्याकेजहरु मार्फत् अगाडि बढाइएको थियो।
तीन ओटा प्याकेजमध्ये प्याकेज १ मा प्रदेश १, २ र बागमती प्रदेश रहेका थिए भने प्याकेज २ मा गण्डकी र लुम्बिनी तथा प्याकेज ३ मा कर्णाली र सुदूरपश्चिम प्रदेश रहेका थिए।
प्याकेज १ का क्षेत्रहरुमा २ वर्षभित्र काम सम्पन्न गर्नेगरी सम्झाैता भएकामा हालसम्म १०२४. ८७२ किमीमा अप्टिकल फाइबर बिच्छ्याउने काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ।
यसैगरी उक्त संस्थाले २७ ओटा डीडब्लूडीएम सिस्टम जडान गरेर क्लस्टर १ का सबै १३ साइटहरुमा पीएटी सम्पन्न भएर माइग्रेशन पनि गरिसकेको छ।
यस्तै क्लस्टर २ का १३ मध्ये ४ ओटा साइटहरुमा कमिशनिङको काम भइरहेको छ भने ४७ ओटा कोर राउटर पनि जडान भइसकेको प्रतिवेदनमा उल्लेख छ।
यूटीएलको सम्झाैता रद्द
यसैगरी प्याकेज २ का क्षेत्रमा पनि २ वर्षभित्र काम सम्पन्न गर्नेगरी सम्झाैता गरेको यूनाइटेड टेलिकम प्रालि (यूटीएल) को हालसम्मको प्रगति शून्य रहेका कारण उक्त कम्पनीले कार्य सम्पन्न गर्नेमा विश्वस्त हुन नसकिएकाले सम्झाैताको म्याद थप नगर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ।
उक्त निर्णय बदर गर्नका लागि रिट निवेदन परेको र सर्वोच्च अदालतले उक्त मुद्दाको टुंगो नलागेसम्म म्याद थप नगर्ने अन्तरिम आदेश दिएको छ।
यस्तै प्याकेज ३ का जिल्लाहरुमा पनि २ वर्षसम्म काम सम्पन्न हुने गरी सम्झाैता गरिएकोमा हालसम्म एडीएसएस का सामान आपूर्ति भइ केही स्थानहरुमा जडान शुरु भएको छ।
यस अन्तर्गत २१ ठाउँमा उच्च क्षमतायुक्त डीडब्लूडीएम जडान भइसकेको र कोर राउटरको पनि फ्याक्ट्री निरीक्षण सम्पन्न भएर उपकरण आपूर्तिका क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ।
यसबाहेक माइक्रोवेभ ट्रान्समिसन नेटवर्कको एलओए जारी भएर सम्झोताको प्रक्रियामा रहेको तथा अप्टिकल फाइबर नेटवर्क यूजी प्याकेज १ २ र ३ का लागि एलओआई जारी भएर पुनरावलोकनको प्रक्रियामा रहेको छ।
यस्तो छ हालसम्मको प्रगति:
| विवरण | प्याकेज १ | प्याकेज २ | प्याकेज ३ |
| सम्झाैता बमोजिम अप्टिकल फाइबरको दूरी (किमी) | २, १७९ | २, १६० | १, ९९२ |
| हालसम्म सम्पन्न अप्टिकल फाइबरको दूरी (किमी) | १,०२४.८७२ | x | x |
| हालसम्मको अप्टिकल फाइबर बिच्छ्याउने कार्यको प्रगति (प्रतिशत) | ४७.०३४ | x | x |
प्रकाशित: २८ पुष २०७८, बुधबार