नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले सुदूरपश्चिम प्रदेशमा आफ्ना संरचना बनाउन जग्गा प्राप्त गर्ने भएको छ।
प्रशासनिक भवन, अनुसन्धान केन्द्र र विज्ञान प्रविधि उद्यान (साइन्स पार्क) निर्माणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले जग्गा प्रदान गर्ने भएको हो।
भीमदत्त नगर विकास समितिले पाँच विघा जग्गा नास्टलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। समितिले जग्गाको स्वामित्व लिन हालै पत्र पठाएको नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले बताए।
‘नास्टलाई प्रदेशस्तरमा व्यवस्थित ढंगबाट सञ्चालन गर्ने हाम्रो प्रस्तावअनुसार भीमदत्त नगर समितिले हामीलाई भर्खरै पत्र पठाएको छ, अब हामीले जग्गा प्राप्त गर्ने प्रक्रिया अघि बढेको छ’, उनले टेक्नोलोजीखबरसँग भने।
समितिको प्रस्तावलाई नास्ट व्यवस्थापन परिषद्ले स्वीकार गर्नुपर्ने प्रावधान रहेकाले त्यसपछि मात्रै जग्गा प्राप्ति औपचारिक तहमा पुग्ने श्रेष्ठले जानकारी दिए।
पाँच बिघामध्ये साढे सात कठ्ठा जग्गा भीमदत्त नगरपालिका–१८ स्थित मुख्य नगर क्षेत्र र अन्य जग्गा कञ्चनपुरको टनकपुर क्षेत्र आसपासको भेगमा प्रदान गर्ने समितिको तयारी छ। बजार क्षेत्रको साढे सात कठ्ठा क्षेत्रमा प्रशासनिक भवन र प्रयोगशाला बनाउन नास्टले प्रारम्भिक गृहकार्य गरेको छ।
यस्तै टनकपुर क्षेत्र आसपासको फराकिलो क्षेत्रमा भने विज्ञान प्रविधिका प्रयोग बुझ्ने, बुझाउने पार्क बनाइने श्रेष्ठले जानकारी दिए।
‘विज्ञान प्रविधिका शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाबीच ज्ञान आदानप्रदान गर्ने पार्क बनाउने नास्टको योजना छ,’ उनले भने, ‘यस्तो पार्कमा परम्परागत सीप र आधुनिक ज्ञान बुझ्न/बुझाउन सकिन्छ।’
सातवटै प्रदेशमा शाखा कार्यालय स्थापना गर्ने योजना बनाएको नास्टको उपत्यका बाहिरको पहिलो कार्यालय चार वर्षअघि महेन्द्र नगरमा खुलेको छ।
सुदूरपश्चिम प्रदेश कार्यालयलाई जडिबुटी अनुसन्धानको केन्द्रका रुपमा चिनाउन आफ्नै जग्गा आवश्यक पर्ने ठहर गर्दै नास्टले भीमदत्त नगरलाई जग्गा उपलब्ध गराइदिन आग्रह गरेको थियो।
कार्यालय छ, छैनन् कर्मचारी
जडिबुटी अनुसन्धानको केन्द्र बनाउने लक्ष्यसहित धनगढीमा पहिलो शाखा कार्यालय स्थापना गरेको नास्टले अझै वैज्ञानिक र कर्मचारी खटाउन सकेको छैन।
धनगढी कार्यालयका लागि सहयोगीसहित सात जनाको दरबन्दी स्वीकृत गरिएकोमा अहिलेसम्म प्राविधिक र वैज्ञानिक खटाइएको छैन। प्राविधिक र कर्मचारी परिचालन गर्न नियमावली बनेको र प्राज्ञसभाले नियमावली पारित गरे लगत्तै जनशक्ति परिचालन गरिने उपकुलपति श्रेष्ठले बताए।
‘सुदूरपश्चिममा जग्गा प्राप्तीको प्रक्रिया अघि बढेकाले आफ्नै भवन र ल्याब बनाएर हर्बल रिसर्च सेन्टर बनाउन समस्या हुने छैन, सेन्टरलाई आवश्यकताअनुसार जनशक्ति परिचालन गरिनेछ’, उनले भने।
पूर्व उपकूलपछि प्राडा जीवराज पोखरेलको कार्यकालमा नास्टले धनगढीमा शाखा कार्यालय स्थापना गरेको थियो।