दूरसञ्चार प्राधिकरणले ज्येष्ठ नागरिकलाई सूचना प्रविधिसम्बन्धी सेवाको प्रयोग गर्न सिकाउने

  • Technology Khabar | २७ पुष २०७८, मंगलवार
दूरसञ्चार प्राधिकरणले ज्येष्ठ नागरिकलाई सूचना प्रविधिसम्बन्धी सेवाको प्रयोग गर्न सिकाउने

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले ज्येष्ठ नागरिकलाई सूचना प्रविधि तथा दूरसञ्चार सेवाको प्रयोग गर्न सिकाउनका लागि प्रक्रिया शुरु गरेको छ।

प्राधिकरणले हालै यसै कामका लागि परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले परामर्शदातृ निकाय वा व्यक्तिहरुबाट आशयपत्र माग गरेको छ।

यसका लागि इच्छुक र योग्यता पुगेका परामर्शदातृले आगामी जनवरी २६ तारिखभित्र मध्याह्न १२ बजेभित्र प्राधिकरणको कार्यालय जमलमा वा अनलाइनमार्फत् www.bolpatra.gov.np/egp मा वा https://nta/gov.np/en/ मार्फत् पनि बुझाउन सकिने सूचनामा उल्लेख छ।

छनोटको आधारका लागि परामर्शदातृ निकाय वा व्यक्तिको गुणस्तरलाई ४०,  अनुभवलाई ५० तथा क्षमतालाई १० अंक छुट्याइएको छ। आशयपत्र पारित हुन कम्तीमा १०० मा ६० अंक ल्याउनुपर्ने प्राधिकरणले उल्लेख गरेको छ।

यो परियोजनाका लागि छानिने परामर्शदातृ निकाय वा व्यक्तिले सातै प्रदेशका कुनै एक जिल्लाका ज्येष्ठ नागरिकहरुलाई दैनिक जीवनमा काम लाग्ने सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रका सेवाहरुका बारेमा तालिम सञ्चालन गर्नेछन्।

प्राधिकरणका अनुसार लक्षित ज्येष्ठ नागरिकलाई सञ्चार तथा व्यक्तिगत विकास र सूचना प्रविधिको दुरुपयोगका कारण समाज तथा देशले सामना गर्नुपरेका प्रभावका बारेमा जानकारी प्रदान गरिनेछ।

परामर्शदातृले यसका साथै डिजिटल नेपाल निर्माणमा पनि योगदान दिनुपर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले जारी गरेको सूचनामा छानिएका परामर्शदातृ निकाय वा व्यक्तिले ज्येष्ठ नागरिकका लागि दिइने तालिमको पाठ्यक्रम तथा सामग्री तयार गरेर प्राधिकरणबाट अनुमोदन गराउनुपर्नेछ।

यसबाहेक प्रत्येक प्रदेशका ज्येष्ठ नागरिकका लागि ३० दिनसम्म दैनिक जीवनमा उपयोगी सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम सञ्चालन गर्नुपर्नेछ। यसरी तालिम दिइने जेष्ठ नागरिकहरु सामान्य लेखपढ गर्न जानेको निश्चित गर्नुपर्नेछ।

साथै प्रदान गरिने तालिम इन्टरनेट, वेब ब्राउनजर, मोबाइल बैंकिङ सेवा, नागरिक एप तथा स्थानीय तथा सरकारी कार्यालयहरुले ल्याएका अन्य एपहरुको प्रयोगमा आधारित हुनुपर्ने प्रावधान छ।

प्रकाशित: २७ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार