
काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन प्रणालीमार्फत नो अब्जेक्सन लेटर दिन थालेसँगै राजश्वमा वृद्धि भएको जनाएको छ।
मन्त्रालयले नो अब्जेक्सन लेटर अनलाइन प्रणालीमा लगेपछि ११ करोडभन्दा बढी राजश्व संकलन गर्न सफल भएको शाखा कार्यालयका उपसचिव हरिप्रसाद निरौलाले जानकारी दिएका हुन्।
उनले मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गर्नेक्रममा सो जानकारी दिएका हुन्।
आइतबार मन्त्री पौडेलले मन्त्रालयको केशरमहलस्थित रहेको शाखा कार्यालयमा निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा मन्त्री पौडेलले ‘नो अब्जेक्सन लेटर’ लिन लाइनमा बसेका विद्यार्थीहरुलाई मन्त्रालयको शाखाबाट प्रवाह हुने सेवाको विषयमा जानकारी लिएका थिए।
‘मन्त्रालयको शाखामा के कस्तो काम भइरहेको छ भनेर निरीक्षण गर्न आएको हुँ’ मन्त्री पौडेलले सेवाग्राहीसँग भने, ‘तपाईँहरुलाई दिने सेवामा कुनै समस्या छ कि छैन ?’
मन्त्रीको प्रश्नमा सेवाग्राहीले लामो समय लाइनमा बसेर भएपनि काम सकेर जाने गरेको बताएका थिए ।
शाखा कार्यालयका उपसचिव निरौलाले सेवाग्राहीको कामका लागि राति १२ बजेसम्म पनि काम गरिरहेको जानकारी दिए ।
‘सेवाग्राहीको सेवाका लागि राति १२ बजेसम्म पनि काम गछौं,’ उपसचिव निरौलाले भने‘रातको अन्तिम उडान नभएसम्म सुत्दैनौं।’ कतिपयले अन्यबाटोबाट ‘नोअब्जेक्सन’ लेटर बनाउँदा विमानस्थलबाट फर्किएको निरौलाको भनाइ छ।
शाखाले अनलाइनमार्फत निवेदन प्रमाणित गरी सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।
प्रकाशित: २५ पुष २०७८, आईतवार