
काठमाडौं ।
जनरल मोटर्स(जीएम)ले आफ्नो लक्जरी सेडानमा ‘अल्ट्रा क्रुज’ ड्राइभर असिस्ट फिचरका लागि क्वालकमसँग साझेदारी गरेको छ। कम्पनीले बिहीबार जानकारी दिएअनुसार यो सुविधालाई पावर गर्न तीन क्वालकम चिपहरू प्रयोग गरिनेछ।
यो सुविधा पहिलो पटक कम्पनीको आगामी फ्ल्यागशिप इलेक्ट्रिक कार ‘सेलेस्टिक’ मा प्रयोग गरिने छ, जुन अर्को वर्ष सार्वजनिक हुनेछ।
रोयटर्स समाचार एजेन्सीले रिपोर्ट गरेअनुसार जीएमले आफ्नो आगामी फ्ल्यागशिप इलेक्ट्रिक कारको लागि ड्राइभर असिस्ट सुविधा विकास गर्न क्वालकमसँग सहकार्य गरेको हो।
यो ‘अल्ट्रा क्रूज’ सुविधाले ड्राइभरहरूलाई केहि टेस्लामा भएको अटोपाइलट फिचर जस्तै ९५ प्रतिशत अमेरिका र क्यानाडाका सडक र फ्रीवेहरूमा ह्यान्ड्स-फ्री ड्राइभिङको फाइदा दिने जीएमले बताएको छ। यो जीएमको हालको ‘सुपर क्रूज’ सुविधा भन्दा फरक छ, जसले राजमार्गमा मात्र काम गर्दछ।
अल्ट्रा क्रुजका प्रमुख इन्जिनियर जेसन डिटम्यानले भने, “यो एक सुपरिवेक्षण गरिएको प्रणाली हो, त्यसैले तपाईले (ड्राइभरले) अझै ध्यान दिनुपर्छ। तर हामीले जे गरिरहेका छौं त्यसले ड्राइभरलाई ठूलो मात्रामा ह्यान्ड्स-फ्री ड्राइभिङको अनुभव दिने हो।”
यस प्रणालीमा दुईवटा ल्यापटप साइजको एउटा कम्प्युटर हुनेछ । जीएमले यस प्रणालीको लागि सफ्टवेयर विकास गर्नेछ, र क्वालकमले कोर चिपहरू तयार गर्नेछ। यसमा दुई प्रोसेसर चिपहरू र एक चिप कार्यहरूलाई गति दिन डिजाइन गरिएको हुनेछ।
यो सम्झौता क्वालकमको लागि नियमित काम भन्दा बाहिर छ, किनकि कम्पनीले मुख्य रूपमा मोबाइल फोनका लागि चिपहरू उत्पादन गर्दै आएको छ। यद्यपि क्वालकमले अटोमेकरहरूका लागि इन्फोटेनमेन्ट सेन्टर र फाइभजी कनेक्टिभिटी चिपहरू बनाउँछ।
तर अहिले कम्पनीले जीएमका लागि सेल्फ-ड्राइभिङ सुविधामा पनि काम गरिरहेको छ। क्वालकमले सेल्फ-ड्राइभिङ चिप्सका लागि बजारमा एनभिडिया र इन्टेलको मोबिलियेसँग प्रतिस्पर्धा गरिरहेको छ।
प्रकाशित: २४ पुष २०७८, शनिबार