
काठमाडौं ।
चिप निर्माता कम्पनी एएमडीले सीईएस २०२२ मा आफ्नो रेजेन ६००० सीपीयू सार्वजनिक गरेको छ।
मोबाइल तथा ल्यापटपमा प्रयोग हुने यी फ्ल्यागशिप सीपीयू यसअघिका रेजेन ५००० का उत्तराधिकारीका रुपमा ल्याइएका हुन्। रेजेन ५००० गत वर्षको सीईएसमा सार्वजनिक गरिएको थियो।
हालै घोषणा गरिएको ल्यापटप प्रोसेसरले यसअघिका भर्सनको तुलनामा तीन गुणा छिटो प्रोसेसिङ गर्ने, गेमिङ पर्फर्मेन्स दुई गुणा छिटो हुने तथा २४ घण्टासम्मको ब्याट्री ब्याकअप दिने दावी गरिएको छ।
कम्पनीले नयाँ एएमडी रेजेन ६००० चिप एच सिरिजमा ३५ र ४५ वाटमा उपलब्ध गराएको छ भने यिनिहरु शक्तिशाली काम, गेमिङ तथा अन्य सिर्जनशील कामका लागि लक्षित भएको बताइएको छ। यस्तै १५ तथा २८ वाट भने पातला र साना डिभाइसका लागि लक्षित गरिएको छ।
यी चिपहरु निर्माण गर्दा जेन ३+ सीपीयू आर्किटेक्चर तथा ६ एनएम म्यानुफ्याक्चरिङ प्रोसेस प्रयोग गरिएको छ।
यसबाहेक इन्टिग्रेटेड ग्राफिक्स प्रोसेसर पनि तीन वर्षदेखि चल्दै आएको भेगा आर्किटेक्चरबाट परिमार्जन भएर रेडन ६००० सिरिजमा प्रयोग भएको आधुनिक आरडीएनए२ प्रयोग गरिएको गिज्मोचाइनामा उल्लेख छ।
प्रकाशित: २२ पुष २०७८, बिहीबार