नेपाल टेलिकमले आउटसोर्स गरिएका कार्यरत कामदारहरुको पारिश्रमिक बढायो

  • Technology Khabar | १२ पुष २०७८, सोमबार
नेपाल टेलिकमले आउटसोर्स गरिएका कार्यरत कामदारहरुको पारिश्रमिक बढायो
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले आफ्नो कार्यालयहरुमा काममा लगाउँदै आएका बाहिरी कम्पनीबाट आउटसोर्स गरिएका कामदारहरुको न्यूनतम पारिश्रमिक बढाएको छ ।

कम्पनीले नेपाल सरकारबाट २०७८ साउन १ गतेदेखि लागू हुने गरी कामदारको न्यूनतम पारिश्रमिक वृद्धि गरेकोमा आधारमा सोहीअनुसार कम्पनीमा निजी क्षेत्रका सेवा प्रदायकहरूबाट आउटसोर्स मार्फत काममा लगाइएका कामदारहरुको समेत तलब वृद्धि गरेको हो।

कम्पनीले त्यसरी आउटसोर्स गरेका कर्मचारीहरु कम्पनीमा काम गरेको १ वर्ष पुरा भएकाहरुको हकमा न्यूनतम पारिश्रमिक पुनरावलोकन गरेर सरकारले निर्धारण गरेअनुसार वृद्धि गरेको जनाएको छ।

आउटसोर्सको सम्झौतामा उल्लिखित व्यवस्था बमोजिम पारिश्रमिक पुनरावलोकन गर्ने सन्दर्भमा कम्पनीको सञ्चालक समितिको पुस १ गतेको निर्णय अनुसार कम्पनीमा अर्धदक्ष प्राविधिक सहायक (कामदार), सुरक्षा गार्ड र सरसफाइ कामदारहरुको तलब वृद्धि गरेको हो ।

“आपूर्तिका लागि गरिएको सम्झौताको अवधि मिति २०७८ साल आषाढ मसान्तमा १ (एक) वर्ष पूरा भएको भए २०७८ साल साउन १ गतेबाट र अन्यको हकमा सम्झौता कार्यान्वयन भएको अवधि एक वर्ष पूरा भएको अर्को महिनादेखि लागू हुनेगरी सरकारले वृद्धि गरे बमोजिम पारिश्रमिक थप गरी सम्बन्धित सेवा प्रदायक मार्फत कामदारलाई उपलब्ध गराउने निर्णय भएको,” कम्पनीले जनाएको छ।

स्मरण रहोस सरकारले कामदारहरुको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकिदिएको छ।

*सम्पादित

प्रकाशित: १२ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...