दूरसञ्चार प्राधिकरणको आन्तरिक बढुवा प्रकृया बारेको मुद्दामा म्याद जारी गर्ने आदेश

  • Technology Khabar | ७ पुष २०७८, बुधबार
दूरसञ्चार प्राधिकरणको आन्तरिक बढुवा प्रकृया बारेको मुद्दामा म्याद जारी गर्ने आदेश

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको वरिष्ठ निर्देशक सहितको आन्तरिक बढुवा प्रकृयाको बारेमा परेको मुद्दामा आज सुनुवाई गर्दै उच्च अदालत पाटनले म्याद जारी गर्ने आदेश दिएको छ। यसका साथै अदालतले अर्को साता छलफलका लागि बोलाएको छ।

सो बढुवा प्रकृयाको बारेमा प्राधिकरणका उप निर्देशक विनोद चन्द्र श्रेष्ठलगायत सात जना कर्मचारीले उच्च अदालतमा मंसिर २८ गते रिट निवेदन दायर गरेका थिए। उनीहरुले प्राधिकरणमा हुन लागेको आन्तरिक बढुवा प्रकृया र पदपूर्ति रोक्न भन्दै अन्तरिम आदेश माग गरेका थिए।

सो मुद्दामा पुस १ गते उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको थियो। सो मुद्दामा उच्च अदालतले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, लोक सेवा आयोगलगायतका विपक्षिको नाममा कारण देखाउ आदेश दिएको थियो।

सोहि आदेशको लागि आज पुस ७ गते छलफलको लागि बोलाएकोमा विपक्षीलाई म्याद जारी गर्ने आदेश दिएको हो। आज उच्च अदालतका न्यायाधिशद्वय ईश्वरराज आचार्य र किरण पौडेलको संयुक्त इजलासले सो आदेश दिएको हो।

सो मुद्दामा एक प्रतिवादी रहेको लोकसेवा आयोगका प्रतिनिधि सो मुद्दाको छलफलमा नआएको भन्दै म्याद जारी गर्ने आदेश दिएको मुद्दाका बारेमा एक जानकारले बताए।

यसअघि पुस १ गते उच्च अदालत पाटनकै न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले जारी गरेको कारण देखाऊ आदेश जारी गर्दै, ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश जारी किन जारी हुनु पर्ने हो ? माग बमोजिम आदेश जारी नहुनुपर्ने कुनै आधार कारण प्रमाण सहित १५ दिन भित्र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको हकमा उच्च सरकारी वकिल, पाटन कार्यालय र अन्य विपक्षीको हकमा आँफै वा आफ्नो प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्नु।” आदेश दिएको थियो।

अदालतले मंसिर १९ गते जारी भएको सूचनाका आधारमा दरखास्त आवेदन लिने बाहेक पदपूर्तिको अन्य काम कारबाही अघि नबढाउन प्राधिकरणलाई निर्देशन दिएको छ।

यसअघि कर्मचारीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सञ्चार मन्त्री समक्ष समेत सो पदपूर्ति प्रक्रिया रोक्न निवेदन दर्ता गराएका थिए। मन्त्रालयले प्राधिकरणलाई सो बारेमा स्पष्ट पार्न निर्देशन दिईसकेको छ।

प्राधिकरणले मंसिर १९ गते कार्यक्षमता मूल्यांकनको आधारमा दुईजना वरिष्ठ निर्देशक, प्राविधिक र अनुगमनतर्फ एक-एक निर्देशक र तीन उपनिर्देशक पदपूर्ति गर्ने भन्दै सार्वजनिक सूचना प्रकाशन गरेको थियो।

हेर्नुस् सम्बन्धित समाचार-

दूरसञ्चार प्राधिकरणको बढुवा प्रकृया बारे उच्च अदालतले छलफलका लागि बोलायो दुवै पक्षलाई

प्रकाशित: ७ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार