
काठमाडौं ।
चिनियाँ सोसल मिडिया प्लेटफर्म वेबो कर्पमाथि देशको नियामक संस्थाले अवैध सामग्री बारम्बार प्रकाशन गरेको आरोपमा ४ लाख ७० हजार डलर जरिबाना गरेको छ।
नियामक संस्था साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइना सीएसीले वेबोले अल्पसङ्ख्यक सम्बन्धमा साइबर सुरक्षा कानूनलगायत अन्य थुप्रै कानून उल्लङ्घन गरेको आरोप लगाएको छ।
बेइजिङको स्थानीय साइबरस्पेस नियामकले वेबोमाथि जम्मा ४४ ओटा जरिबाना तोकेको र उक्त जरिबानाको रकम समग्रमा १ करोड ४३ लाख डलर हुन आउने बुझिएको छ।
ट्विटरजस्तै प्लेटफर्म चलाउने कम्पनी वेबोलाई तुरुन्तै ती सामग्रीहरु सच्याउन साथै सम्बन्धित व्यक्तिहरुसँग व्यक्तिगत रुपमा छलफल गर्न निर्देशन दिइएको सीएसीले विज्ञप्तिमा उल्लेख गरेको छ।
वेबोले पनि एउटा विज्ञप्ति प्रकाशित गरेर आफूहरुले नियामकको आलोचनालाई सहर्ष स्विकार्ने र तोकिएको जरिबानाको सम्बोधनका लागि एउटा कार्यदल गठन गरेको जानकारी दिएको छ।
प्रकाशित: २८ मंसिर २०७८, मंगलवार