
काठमाडौं ।
‘कोड फर नेपाल’ ले डाटा सम्बन्धि सीप विकास गर्न डाटा फेलोशिप संचालन गर्ने भएको छ। तीन महिना लामो यस फेलोशिपको मुख्य उद्देश्य नेपाली युवाहरुलाई डाटा सम्बन्धि सीप सिकाउने तथा रोजगारी प्रदान गर्ने रहेको छ।
फेलोशिपले यस वर्ष ४०० भन्दा बढी नेपालीहरूको डाटा सीप विकास गरी उनीहरूको जीवनमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ।
‘कोड फर नेपाल’ नेपालमा डिजिटल साक्षरता प्रबर्द्धन गरी ओपन डाटाको प्रयोग बढाएर नेपाललाई डिजिटल रूपमा सशक्त बनाउन सन् २०१४ मा स्थापना गरिएको स्वयंसेवकहरूको एउटा समुदाय हो।
कोड फर नेपालले डाटाक्याम्पको सहकार्यमा यस फेलोशिप सञ्चालन गर्न लागेको हो । यस फेलोशिपका प्रत्येक सहभागीले ३९९ अमेरिकी डलर बराबरको प्रिमियम डाटा क्याम्प सदस्यता प्राप्त गर्नेछन् ।
साथै उनीहरुले रोजगारीका विभिन्न अवसरहरु पनि प्राप्त गर्नेछन्। फेलोशिपका सम्पूर्ण सहभागीहरुले प्राप्त गर्ने कार्यक्रमको कुल मौद्रिक मूल्य २ करोड नेपाली रुपैयाँ भन्दा बढी रहेको आयोजकले जानकारी दिएकोछ।
फेलोशिपमा चार चरणहरु हुनेछन् डाटाक्याम्प कोर्स, असाइनमेन्ट, सफ्ट स्किल्स डेभलपमेन्ट, र सपोर्ट । जसमा डाटाक्याम्प कोर्स अन्तर्गत सहभागीहरुले आफ्नो डाटा र डिजिटल सीपहरू बृद्धि गर्नेछन् ।
यो कोर्स तीन महिनाभित्र सक्नु पर्नेछ । त्यसपछि असाइनमेन्ट अन्तर्गत फेलोहरूले असाइनमेन्टलाई ब्लग पोष्ट, डाटा भिजुअलाइजेशन वा प्रकाशनयोग्य आउटपुटको कुनै पनि रूपको रूपमा पेश गर्नुपर्नेछ ।
यसरी प्रकाशन भएका प्रत्येक ब्लग पोष्टको ५ हजार रुपैयाँका दरमा प्रदान गरिनेछ । नेपाल भित्र र बाहिर बस्ने नेपालीहरू यस फेलोशिपको लागि आवेदन दिन सक्नेछन्।
इन्टरनेट र ल्यापटपको पहुँच भएका नेपाली युवाहरूले आफूलाई उपयुक्त हुने समयमा डाटा क्याम्पमा उपलब्ध विभिन्न सिकाई सामग्रीहरु अध्ययन गरेर यस कार्यक्रमको भरपूर फाईदा लिन सक्ने बताईएकोछ।
फेलोशिपको अवधि ३ महिनाको हुनेछ । यसका लागि साधारण प्रोग्रामिङको ज्ञान भएको हुनुपर्नेछ । आईटी र प्रोगामिङ्मा आधारभुत ज्ञान भएका र डाटा सीप विकास गर्न खोज्ने नेपालीहरुलाई लक्षित गरिएको कोड फर नेपालले जनाएको छ।
नेपाल भित्र र बाहिर बस्ने नेपालीहरू यस फेलोशिपको लागि आवेदन दिन योग्य छन्। आवेदन दिने अन्तिम समय डिसेम्बर १५ सम्म रहेको छ।
कसरी आवेदन दिने ?
डाटा फेलोशिपको लागि आवेदन खुला भएको आयोजकले जानकारी दिएको छ। इच्छुक सहभागीहरूले यहाँ क्लिक गरी फारम भरेर फेलोशिपको लागि आवेदन दिन सक्नेछन्।
छानिएका उम्मेदवारहरूलाई आवेदनको म्याद सकिएपछि अन्तर्वार्ताका लागि बोलाइनेछ। चयन गरिएका सहभागीहरुले फेलोशिपमा भर्ना भएको तीन महिनाभित्र कोर्सका सबै चरणहरू पूरा गर्नुपर्नेछ।
यस फेलोशिपले सहभागीहरूको डाटा सम्बन्धि सीप विकास गरेर नयाँ अवसरहरूका ढोका खोल्ने लक्ष्य राख्छ। सहभागीहरूले फेलोशीप अवधिपश्चात विभिन्न परियोजनामा सहभागी भई आयआर्जनका विविध अवसरहरु प्राप्त गर्न सक्ने ‘कोड फर नेपाल’ ले उल्लेख गरेको छ।
प्रकाशित: २८ मंसिर २०७८, मंगलवार