
काठमाडौं ।
प्रविधिको प्रयोग गरेर नेकपा माओवादी केन्द्रले शनिवार सात प्रदेश र दुईवटा गैरभौगोलिक प्रदेशको सम्मेलन एकैपटक आयोजना गरेको छ। कोरोनाको जोखिमका बीचमा माओवादीले प्रविधिको अधिकतम उपयोग गरेर काठमाडौँबाट एकैपटक धनगढीलाई जोड्यो।
काठमाडौँमा कलाकारले गीत तथा नृत्य प्रस्तुत गर्दा धनगढीमा भेला भएका माओवादीका नेता तथा कार्यकर्ता उत्साहित हुन्थे भने कर्णाली प्रदेशका कलाकारले आफ्नो प्रस्तुति दिँदा कास्कीमा भेला भएका कार्यकर्ताले ताली बजाएर स्वागत गर्थे। संसारभर नै कोरोना कहरले नकारात्मक प्रभावका अलावा सकारात्म्क प्रभाव पनि पारेको छ। माओवादीको प्रदेश सम्मेलनलाई एकै स्थानमा जोड्न युवा नेता रामप्रसाद सापकोटाले विशेष पहल गरेका हुन्।
नेता सापकोटाका अनुसार यसअघि माओवादीको सहायक सङ्गठन वाइसीएल नेपालको सम्मेलनमा पनि यस्तै प्रविधिको प्रयोग गरिएको थियो ।
भर्चुअल कन्फेरेन्स प्रविधिबाट माओवादीका १२ हजार बढी नेता तथा कार्यकर्ता एकै ठाउँमा जोडिएको पनि यो पहिलोपटक हो। नेपालका अन्य राजनीतिक दलले हालसम्म यस्तो प्रविधिको उपयोग नगरेको र माओवादीले नै पहिलोपटक नौ ओटा प्वाइन्टमार्फत देशैभर जोडिएको नेता सापकोटाको भनाइ छ।
“प्रविधिको अधिकतम् प्रयोग गरेर देशैभरका नेता तथा कार्यकर्तालाई एकै ठाउँमा ल्याउन सकिन्छ भन्नेमा हामी सफल भएका छौँ”, वाइसीएलका पूर्वअध्यक्षसमेत रहेका नेता सापकोटाले भने, “प्रदेश सम्मेलनमा देखिएको कार्यकर्ता तहको उत्साह र उभारलाई अझै प्रविधिसँग जोडेर जनतामा पुग्नुपर्छ भन्नेसमेत हामीलाई शिक्षा प्राप्त भएको छ।”गोरखापत्र अनलाइनबाट
प्रकाशित: २६ मंसिर २०७८, आईतवार