
काठमाडौं ।
गोरखाको पालुङटार नगरपालिकाले बिहीबारबाट नयाँ सेवा सुरु गरेको छ । उक्त नगरपालिकाभित्र बन्ने घर एवं भवनको नक्सा पास अब अनलाइनमार्फत हुने भएको छ।
नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार अनलाइनमार्फत भवनको नक्सा पास गर्ने काम सुरु भएको हो। उक्त कामका लागि यूूएनडीपीको प्राविधिक सहयोगमा सफ्टवेयर निर्माण गरिएको छ।
सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनियरले बनाएको घर नक्साको डिजाइन अनलाइनबाट नगरपालिकामा पेस गर्न सक्नेछ। त्यसरी आएका निवेदन र नक्साहरू अनलाइनमार्फत नै स्वीकृत गरिनेछ।
कागजात पठाउनका लागि छनोट भएका सेवाप्रदायक निकायलाई छुट्टै पासवर्ड उपलब्ध गराइनेछ। नक्सा पास गरेबापत बुझाउनुपर्ने दस्तुर पनि सम्बन्धित वडा कार्यालयमार्फत तिर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ। कर तिरेको रसिद पनि अन्य कागजातसँगै राखेर अनलाइनमार्फत पठाउन सकिने नगरपालिकाले स्पष्ट पारेको छ।
आवश्यक कागजपत्र पुगिसकेपछि घरधनीलाई आवश्यक सूचना पनि अनलाइनमार्फत नै दिइने हुँदा सेवाग्राहीलाई नक्सा पासमा सहजता हुने विश्वास लिइएको छ। स्मार्ट सिटी बनाउने योजनाका साथ अघि बढेको उक्त नगरपालिकाले भवन संहिता कार्यान्वयनलाई कडाइ गरको छ।
नगर क्षेत्रभित्र बन्ने व्यक्तिका घर एवं अन्य संरचनालाई मापदण्डभन्दा बाहिर जान नदिन नक्सा पासमा जोड दिने र बनिसकेका घरको निरीक्षण गरी सम्पन्नता प्रमाणपत्र उपलब्ध गराउने गरिएको उक्त नगरपालिकाले जनाएको छ।
भूकम्पपछि यूएनडीपीले नगरपालिकामा नक्सा पास स्टुडियो नै निर्माण गरी सो क्षेत्रका स्थानीयवासीको घर तथा भवनको निःशुल्क नक्सा बनाइदिएको थियो। उक्त संस्थाको कार्यावधि सकिएकाले अब भने नगरपालिकालाई शुल्क बुझाउनुपर्ने हुन्छ।
अनलाइनमार्फत नक्सा पास सेवा सुरु भएपछि सेवाग्राहीलाई केही सहज भए पनि परामर्शदाताले ठग्ने खतरा बाँकी रहेकाले नगरपालिकाले त्यसको प्रभावकारी अनुगमन गर्नु आवश्यक रहेको सरोकारवाला बताउँछन् ।
प्रकाशित: २५ मंसिर २०७८, शनिबार